• २० असोज २०८१, आइतबार

फक्ताङ्लुङले खरिद गर्‍यो दुई वटा एम्बुलेन्स

blog

फक्ताङ्लुङ गाउँपालिकाले खरिद गरेको एम्बुलेन्स । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, साउन ३ गते ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले एकैपटक दुईवटा एम्बुलेन्स खरिद गरेको छ । जिल्लाको दुर्गम तथा विकट क्षेत्र रहेको फक्ताङ्लुङ गाउँपालिकाले सेवाग्राहीको सुविधालाई दृष्टिगत गरी दुईवटा एम्बुलेन्स खरिद गरेको हो ।

गाउँपालिकाले वडा ३ लिङ्खिममा रहेको सिँवा स्वास्थ्यचौकी र गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको वडा ५ तापेथोकस्थित तापेथोक स्वास्थ्य चौकीमार्फत सञ्चालनमा ल्याउनेगरी एम्बुलेन्स खरिद गरेको हो । सानिमा मध्यतमोर जलविद्युत् आयोजना समेतको सहकार्यमा गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको जनाइएको छ ।

गाउँपालिका वडा १ सावादिन, वडा २ खेजेनिम र वडा ३ लिङ्खिमका सेवाग्राहीलाई लक्षित गरी एउटा एम्बुलेन्स सिँवा स्वास्थ्यचौकीमार्फत सञ्चालन गर्ने योजना छ । त्यस्तै, वडा ४ इखाबु, वडा ५ तापेथोक, वडा ६ लेलेप र वडा ९ ओलाङ्चुङगोलाका सेवाग्राहीलाई सेवा गर्नेगरी अर्को एम्बुलेन्स तापेथोक स्वास्थ्य चौकीमार्फत सञ्चालनको योजना बनाएको गाउँपालिकाले जनाएको छ ।

पालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले गाउँपालिकाले खरिद गरेको एम्बुलेन्स केही समयभित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिनुभयो । दुईवटा एम्बुलेन्स एकैचोटी खरिद गरिएकाले पालिकावासी सेवाग्राहीलाई राहत पुग्ने विश्वास लिएको अध्यक्ष लिम्बूले बताउनुभयो ।

हालसम्म गाउँपालिकामा एउटा पनि एम्बुलेन्स नभएको अवस्थामा पालिका अध्यक्षले चढ्ने गाडी (सवारी साधन) लाई लिम्बू निर्वाचित भएदेखि नै एम्बुलेन्सको रुपमा प्रयोग गरिँदै आउनुभएको थियो । अब गाउँपालिकामा दुईवटा एम्बुलेन्स भित्रिएसँगै अध्यक्ष चढ्ने गाडीलाई पालिकाको प्रशासनिक कार्यमा प्रयोग गर्नेगरी यसअघि नै गाउँसभाले कार्यविधि बनाइसकेको कार्यपालिका सदस्य मिङ्माडण्डु शेर्पाले जानकारी दिनुभयो ।