• ७ वैशाख २०८१, शुक्रबार

अतिक्रमित सरकारी जग्गा भाडामा

blog

राममणि दाहाल 

हेटौँडा, साउन ३ गते । हेटौँडा उपमहानगरपालिका–५ स्थित सङ्घीय सरकार अन्तर्गतको प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्र, हेटौँडाको जग्गा अतिक्रमणमा परेको छ। क्लब र केही व्यक्तिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमातहतको केन्द्रको नाममा रहेको सरकारी जग्गा वर्षौंदेखि अतिक्रमण गरी कब्जा जमाएर भोगचलन गर्दै आएको पाइएको हो। 

सरकारी कार्यालय र निकायको नाममा तथा सार्वजनिक जग्गा खोजी गर्ने क्रममा केन्द्रको जग्गा क्लब र व्यक्तिले अतिक्रमण गरी बसेको रहस्य खुलेको छ। केन्द्रका प्रमुख सरोजकुमार यादवले जिल्ला प्रशासन कार्यालय मकवानपुरले केन्द्रलाई गत जेठ १ गते एक हप्ताभित्र केन्द्रको नाममा रहेको जग्गाको विवरण पठाउन पत्राचार गरेपछि जग्गा खोजी गर्ने क्रममा अतिक्रमण गरी प्रयोग गरेको पाइएको जानकारी दिनुभयो। 

सरकारी जग्गा अतिक्रमण गर्नेले टहरा र पक्की घर बनाएर भाडामा समेत दिँदै आएको पाइएको छ। केन्द्र प्रमुख यादवले प्रारम्भिक अनुमान अनुसार नौ बिघाभन्दा बढी जग्गा अतिक्रमण भएको देखिए पनि त्योभन्दा बढी जग्गा अतिक्रमण भएको हुन सक्ने बताउनुभयो। केन्द्रको प्रारम्भिक अनुमान अनुसार क्लब र नौ जना व्यक्तिबाट नौ बिघा सात कट्ठा १३ धुर जग्गा अतिक्रमण गरिएको छ। सबैभन्दा बढी जग्गा पिप्ले युवा क्लबले पिप्ले क्याम्पा रङ्गशाला र हेल्थ पोस्टले अतिक्रमण गरेको पाइएको केन्द्रले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पठाएको जग्गाको विवरणमा उल्लेख छ। 

नौ जना व्यक्तिले जग्गा अतिक्रमण गरी जस्ताको टहरा बनाएको, पसल सञ्चालन गरेको, केन्द्रको भवनमा रेस्टुरेन्ट सञ्चालन गरेको, बारी अतिक्रमण गरेको, जग्गा अतिक्रमण गरी टहरा र पक्की घर बनाएर रेस्टुरेन्ट सञ्चालन गर्न भाडामा दिएको पाइएको हो। केन्द्रको भवनमा बसेको, कुखुरापालनसमेत गरी जग्गा अतिक्रमण गरेको विवरणसहित जग्गाको तथ्याङ्क केन्द्रले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुझाएको छ। 

पिप्ले युवा क्लबले रङ्गशाला निर्माणका लागि आठ बिघा १३ कट्ठा १८ धुर जग्गा अतिक्रमण गरेको पाइएको छ। क्लबलाई रङ्गशाला निर्माणमा हेटौँडा उपमहानगरपालिका र बागमती प्रदेश सरकारले सहयोग गर्दै आएको छ। एक कट्ठादेखि दुई कट्ठा पाँच धुरसम्म जग्गा अतिक्रमण गरी बस्दै आएको केन्द्रले जनाएको छ। जिल्ला प्रशासन कार्यालयले अतिक्रमण गरी बनाइएका संरचना हटाउन भनेको छ। केन्द्र प्रमुख यादवले गोरखापत्रलाई भन्नुभयो, “के कति जग्गा अतिक्रमण भएको छ, सीमाङ्कन र जग्गाको पहिचान गर्न नापी कार्यालय मकवानपुरमा पत्राचार गरेका छौँ।” 

नापी भएपछि के कति जग्गा कोबाट अतिक्रमण भएको हो, यकिन गरी केन्द्रको नाममा रहेको जग्गामा बनेका संरचनाहरू हटाइने छ। उहाँका अनुसार नापी कार्यालयमा रहेको नक्सामा केन्द्रको नाममा रहेको जग्गा ११ जनाले कित्ताकाट गरी आफ्नो नाममा लगेको देखिएको छ। नापी कार्यालयबाट केन्द्रको जग्गा नापनक्सा गरेपछि वास्तविकता केही दिनमै खुल्ने छ। लामो समयदेखि सार्वजनिक जग्गा संरक्षणविहीन बन्दा र केन्द्रले चासो नराख्दा अतिक्रमणमा परेको देखिएको छ। केन्द्रको नाममा रहेको जग्गा नै कित्ताकाट गरी व्यक्तिको नाममा पुग्नुले संरक्षित रूपमै सरकारी जग्गा अतिक्रमण भएको आशङ्का गरिएको छ। २०२४ सालमा मत्स्य विकासको क्षेत्रमा योगदान पु-याउने उद्देश्यसहित स्थापना भएको केन्द्रको नाममा ४९ हेक्टर क्षेत्रफल जग्गा रहेको छ।