अर्जुन काफ्ले
स्याङ्जा, साउन ३ गते । ज्यान मुद्दामा कैद सजाय तोकिएर फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
कर्तव्य ज्यान मुद्दामा २२ वर्षदेखि फरार भीरकोट नगरपालिका–७ का ४३ वर्षीय जमुना अर्याल र सवारी ज्यान मुद्दामा १८ वर्षदेखि फरार बिरुवा गाउँपालिका–४ का ५४ वर्षीय दुर्गबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्ला अदालतले अर्याललाई चार वर्ष ११ महिना १० दिन र गुरुङलाई एक वर्ष ११ महिना नौ दिन कैद सजाय फैसला गरेको थियो ।
प्रहरी निरीक्षक पदम राज थापाले गोप्य सूचनाको आधारमा दुवै जनालाई घरबाटै पक्राउ गरेको जानाकारी दिनुभयो । कैद सजाय भएपछि फरार भएका दुई जनालाई सजाय भुक्तानका लागि जिल्ला कारागार पठाइएको जानकारी प्रहरी निरीक्षक थापाले दिनुभयो ।