काठमाडौँ, साउन ३ गते । वडा कार्यालयमा छाडेको नागरिकताको दुरुपयोग गर्दै वडाध्यक्षले नक्कली छोरीको नागरिकता बनाउन सिफारिस गरेको पाइएको छ।
काभ्रेपलाञ्चोक जिल्लाको विकट खानीखोला गाउँपालिका–१ का दम्पतीले आफूहरू बुवाआमा भनेर उल्लेख गरी जारी भएको नागरिकताको खारेजी माग राख्दै जिल्ला प्रशासन कार्यालय काभ्रेमा जाहेरी दिएका छन्। वंशजकै आधारमा आफ्नो हुँदै नभएको छोरीको नाममा नागरिकता बनेको सुनेपछि उनीहरू सहयोग खोज्दै प्रशासनमा आइपुगेका हुन्।
वडाध्यक्षले ‘वडा कार्यालयमा कागजपत्र मिलाउँछु’ भन्दै मागेको नागरिकताबाट नक्कली छोरीको सिफारिस भएको थाहा पाएपछि प्रशासनको सहयोग मागेको निवेदनमा उल्लेख छ। निवेदनमा वडाध्यक्ष सन्तमान थिङले सोही वडाका गगनसिं गोले र माइलीमाया गोलेको नागरिकता दुरुपयोग गर्दै नक्कली छोरी विद्या गोलेको नागरिकता बनेको उल्लेख गरिएको छ। नागरिकता बनेको विद्याको घर भने कहाँ हो थाहा छैन तर श्रीमान्को नाम भने बिलबहादुर थिङ सोही वडाका स्थानीय बासिन्दा हुन्।
काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले खानीखोला–१ का अध्यक्ष सन्तमान थिङले गलत सिफारिस गर्दै नागरिकता बनाएको खारेजी गरिपाऊँ भनी निवेदन आएको बताउनुभयो। उहाँले आरोपीलाई पत्र पठाएको र बाँकी कुरा उहाँ सम्पर्कमा आएपछि मात्रै भन्न सकिने बताउनुभयो।
वडाध्यक्ष थिङले भने नागरिकता बनाउन सिफारिस भएको महिलाको विवाहको प्रमाणपत्र पहिल्यै बनाएकाले सिफारिस गरेको प्रतिक्रिया दिनुभयो।