• २० असोज २०८१, आइतबार

बीपी प्रतिष्ठानमा छुट्टै डेङ्गु क्लिनिक सेवा

blog

निशा राई 

धरान, साउन २ गते । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले छुट्टै डेङ्गु क्लिनिक सञ्चालनमा ल्याएको छ । डेङ्गु रोगको प्रकोपको नियन्त्रण तथा सर्वसाधारणलाई सहजरुपमा उपचार दिने उद्देश्यले प्रतिष्ठान तथा धरान उपमहानगरपालिकाको सहकार्यमा गत शुक्रबारबाट प्रतिष्ठानको जी.ओ.पी.डी.भवन अगाडी छुट्टै डेङ्गु क्लिनिक सञ्चालन गरेको बीपी प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिनुभएको छ । 

उहाँका अनुसार डेङ्गु क्लिनिक हप्ताको सातै दिन सञ्चालनमा रहने गरी आइतबारदेखि शुक्रबारसम्म बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म र शनिबार बिहान ९ बजेदेखि १२ बजेसम्म सञ्चालनमा रहने छ । क्लिनिकमा आउने बिरामीहरूका लागि डेंगुको परीक्षण निःशुल्क रूपमा गरिने व्यवस्था गरिएको छ । 

गत शुक्रबारदेखि आइतबारसम्म जम्मा १ सय एक्काइस जनाको परीक्षण गरिएकोमा ९६ जना (७९.३५) मा डेङ्गु सङ्क्रमण देखिएको छ, जसमा बालकदेखि वृद्धसम्म सबै उमेर समूहका बिरामीहरू लगायत केही गर्भवती महिलाहरू पनि रहेका सहप्रवक्ता डा.पोख्रेलले बताउनुभयो । उहाँका अनुसार परीक्षणमा धेरै जसो धरानको १५, १७ र ११ नम्बर वडाबाट बढी सङ्क्रमितहरू देखिएको छ । 

उक्त क्लिनिक सञ्चालनका लागि प्रतिष्ठानबाट चिकित्सक, नर्स, पारामेडिक्स लगायत अन्य जनशक्तिको व्यवस्था गरेको छ भने धरान उपमहानगरपालिकाले ५ सय थान डेङ्गु परीक्षण किट उपलब्ध गराउनुका साथै उपचारका लागि आउने सर्वसाधारणका लागि छुट्टै टेन्ट, कुर्सीको व्यवस्था समेत गरेको बताउनुभयो ।

यसरी छुट्टै सञ्चालित डेङ्गु क्लिनिकका कारण बिरामीहरू निःशुल्क परीक्षण लगायत चिकित्सकको उपचार सेवा सहजरुपमा पाउँदा गरेकोमा सर्वसाधारणले खुसी व्यक्त गरेका छन् । दिनानुदिन बढ्दो डेङ्गुका बिरामीहरूको चापका कारण हाल उपलब्ध ५ सय थान निःशुल्क किट आगामी दिनमा अपुग हुने अवस्था देखिँदा प्रतिष्ठानले थप किटका लागि ध.उ.म.न.पा., प्रदेश स्वास्थ्य मन्त्रालय, सङ्घीय स्वास्थ्य मन्त्रालयहरूसँग पहल गरिसकेकोमा ध.उ.म.न.पा. बाट थप २ सय थान तथा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, स्वास्थ्य मन्त्रालय, काठमाडौंबाट २ हजार थान डेङ्गु परीक्षण किट उपलब्ध गराउने आश्वासन प्राप्त भएको बीपी प्रतिष्ठानका सहप्रवक्ता डा. पोखरेलले जानकारी दिनुभयो ।