बैतडी समाचारदाता
बैतडी, साउन २ गते । सुर्नया गाउँपालिका–२, ग्वानी घरकट्टेका ५२ वर्षीय जितबहादुर विष्ट उपचार खर्चको अभावमा विगत एक वर्षदेखि ओछ्यानमा थला परेका छन् ।
भारतमा ज्याला मजदुरी गर्ने क्रममा खुट्टा भाँचिएपछि उहाँलाई हिँडडुल गर्न पनि समस्या भएको छ । खुट्टामा राखिएको फलामको रड झिक्न पनि आर्थिक समस्या भएको उहाँ बताउनुहुन्छ ।
उहाँको दायाँ खुट्टा भाँचिएको छ भने कम्मरमुनिको भागले राम्रोसँग काम गर्दैन । भाँचिएको खुट्टामा रड राखेर उहाँलाई हिँडडुल गर्न समस्या भएको छ । एक वर्षदेखि ओछ्यानमै थला पर्नुभएको छ । रड राखेको खुट्टाको नियमित उपचार गर्न नसक्दा पाप्रा निस्कन थालेको छ भने खुट्टा सुकेर चल्न नसक्ने अवस्था छ । खुट्टा भाँचिनुअघि नै श्रीमती गुमाएका विष्टले दुःखेसो पोख्नुभयो ।
छोरा पनि सुस्त मनस्थितिको भएकाले वृद्ध आमाले स्याहार गर्ने गरेको पीडा उहाँले सुनाउनुभयो । घरको आर्थिक अवस्था दयनीय भएका कारण जितबहादुरले उपचार गर्न नसकेको उहाँका नातेदार गणेश विष्टले बताउनुभयो ।
उपचार खर्चका लागि स्थानीय सरकारसँग कुरा राख्न जाँदा बजेट नभएको भन्दै फर्काइदिने र अपाङ्गता भत्ता लिनका लागि पनि अस्पतालबाट चिकित्सकको सिफारिस खोज्ने गरेको आफन्त विष्टले बताउनुभयो । कतैबाट पनि कुनै सुनुवाइ नभएपछि गरिबले ओछ्यानमै थला पर्नुपर्ने बाध्यता रहेको भनाइ उहाँको छ । उहाँले मनकारी तथा सहयोगीसँग उपचार खर्चका लागि याचना गर्नुभएको छ ।