ठाकुरप्रसाद आचार्य
म्याग्दी, साउन १ गते । राष्ट्रिय गौरवको आयोजना बेनी-जोमसोम कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ स्थित रुप्से झरनामा बेलिब्रिज निर्माण गरिएको छ । तीन वर्षअघि रुप्से झरनामा आएको बाढीले अस्थायी पुल र निर्माणाधीन पक्की पुल एकसाथ बगाएको थियो । पुल बगाएपछि बर्खायाममा सवारीसाधन आवतजावत गर्न निकै समस्या हुने गरेको थियो ।
बेलिब्रिज निर्माण सहित दुई सय पचास मिटर सडक स्तरोन्नति गर्न बेनी–जोमसोम कोरला सडक आयोजनाले मुक्तिनाथ निर्माण सेवासँग एक वर्षमा निर्माण सक्नेगरी गत पुसमा तीन करोड ५९ लाख रुपियाँमा ठेक्का सम्झौता गरेको थियो ।
ठेक्काको सम्झौता समय एक वर्षको भएपनि निर्माण कम्पनीले करिब ८० प्रतिशत काम ६ महिनामै सम्पन्न गरेको बेनी–जोमसोम कोरला सडक आयोजनाका प्रमुख जगत् प्रजापतिले बताउनुभयो । "बेलिब्रिज जडानको काम तीन महिनामा सम्पन्न भएको छ । ढलानको केही काम बाँकी भएकाले एक हप्ताभित्रमा बेलिब्रिज सञ्चालनमा ल्याउँछौँ । बर्खायाम भएकाले सडक स्तरोन्नतिको केही काम मात्र बाँकी छ ।" पुल संरक्षणका लागि वारिपारि आवश्यक संरचना निर्माण गरिएकाले रुप्सेमा बाढी आएपनि पुल सुरक्षित हुने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, "झरनाको वारीपारीको सडक फराकिलो बनाएर ढुङ्गाको सोलिङ गरिएको छ । अघिल्लो वर्ष जस्तो सडक हिलो र माथिबाट ढुङ्गा र पहिरो खस्ने जोखिम कम भएको छ । अब रुप्से खण्डमा सडक सहज भएको छ ।"
अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा काली गण्डकीमा पक्की मोटरेबल पुल निर्माण भएसँगै उपयोगविहीन भएको ४८ मिटर लामो बेलिब्रिजलाई रुप्सेमा स्थानान्तरण गरिएको उहाँले बताउनुभयो।
बेलिब्रिज निर्माणका लागि दुबैतर्फ ग्याविक वाल र आरसीसी वाल निर्माण गरिएको आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो । उहाँले भन्नुभयो, "बेलिब्रिज निर्माण सकिएको छ । बर्खायाममा रुप्सेमा बाढी आउँदा सवारीसाधन आवतजावतमा समस्या हुने गरेको थियो । बेलिब्रिज निर्माण भएसँगै यो समस्या हटेको छ । यातायातका साधनहरूलाई सहज हुने भएको छ ।"