ठाकुरप्रसाद आचार्य
म्याग्दी, असार ३१ गते । म्याग्दीमा रहेका तातोपानी कुण्डहरूले एक वर्षको अवधिमा करिब दुई करोड रुपियाँ आम्दानी गरेका छन् । म्याग्दी र कालिगण्डकी नदी किनारमा रहेका तातोपानीका कुण्डहरुले चालु आर्थिक वर्षमा एक करोड ९३ लाख ४१ हजार चार सय सत्र रुपियाँ आम्दानी गरेका हुन् । प्रवेश तथा स्नान शुल्क र चन्दा सहयोगबाट उक्त रकम सङ्कलन भएको हो ।
तातोपानी कुण्ड मध्य बेनी नगरपालिका ४ स्थित सिङ्गा तातोपानी कुण्ड र अन्नपूर्ण गाउँपालिका ५ को पाउद्धार तातोपानी कुण्ड प्राकृतिक उपचार स्थलका रूपमा परिचित छन् । कालिगण्डकी कोरिडोरमा पर्ने भुरुङ तातोपानी कुण्डमा भने राउन्ड अन्नपूर्ण पदयात्रा र मुस्ताङ भ्रमणका लागि आउने पर्यटकहरूले आनन्द लिन स्नान गर्ने गर्दछन् ।
अन्य स्थानमा रहेका तातोपानी कुण्डहरूले भने शुल्क लिने गरेका छैनन् । धवलागिरि गाउँपालिका १ गुर्जा मा रहेको गुर्जा तातोपानी, अन्नपूर्ण गाउँपालिका ६ रातोपानी,१ दोबा तातोपानी र रघुगङ्गा गाउँपालिका ४ दग्नाममा रहेको तातोपानी कुण्डमा स्नान गरेबापत शुल्क लाग्दैन । यी तातोपानी कुण्डहरूलाई पनि उपचार स्थलका रूपमा लिने गरिन्छ ।
सबैभन्दा धेरै बेनी नगरपालिका ४ स्थित सिङ्गा तातोपानी कुण्डले एक वर्षको अवधिमा एक करोड ३७ लाख ४१ हजार चार सय सत्र रुपियाँ आम्दानी गरेको छ ।
त्यस्तै अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ५ सिखको पाउद्वारमा रहेको तातोपानी कुण्डबाट वार्षिक रूपमा ११ लाख रुपियाँ र वडा नम्बर २ स्थित भुरुङ तातोपानी कुण्डबाट ४५ लाख रुपियाँ गाउँपालिकालाई आम्दानी भएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । यी दुवै तातोपानी कुण्डलाई अन्नपूर्ण गाउँपालिकाले कुण्ड सञ्चालनको जिम्मा वार्षिक रूपमा ठेक्कामार्फत व्यक्ति वा संस्थालाई दिने गरेको छ ।
स्थानीय तह कार्यान्वयन आएसँगै तातोपानी कुण्डको पूर्वाधार निर्माण गरेर व्यवस्थित बनाएका कारण पर्यटक आगमन वृद्धि हुन थालेको हो ।
म्याग्दी नदी किनारमा प्राकृतिक रूपमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको कुण्डमा स्नान गरेर उपचार र अवलोकनका लागि तातोपानीमा आउने पाहुनाहरूले तिर्ने प्रवेश शुल्क आम्दानीको मुख्य स्रोत रहेको सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले बताउनुभयो ।
उहाँका अनुसार गत साउनदेखि जेठ महिनासम्म १७ हजार नौ सय ९३ जनाले तातोपानी कुण्डमा स्नान गरेका छन् । कुण्डमा एक पटकमा तीन सय पचासदेखि चार सय जनाले स्नान गर्न सक्ने क्षमता रहेको उहाँले बताउनुभयो । सात दिन स्नान गर्नका लागि तीन सय पचास रुपियाँ शुल्क निर्धारण गरिएको उहाँले बताउनुभयो ।
बिरामीले स्नान गर्ने कुण्डमा प्रवेश शुल्क बापत ६२ लाख ९७ हजार पाच सय पचास र पाहुनाले स्नान गर्ने कुण्डबाट २५ लाख ८८ हजार चार सय रुपियाँ आम्दानी भएको कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।
त्यस्तै चन्दा सहयोग बापत चार लाख १६ हजार एक सय ९२ रुपियाँ, मन्दिरको भेटी पाँचलाख ३० हजार पाँच सय ८५, आजीवन सदस्यता शुल्क बापत तीन लाख आठ हजार छ सय ९०,बैङ्कमा रहेको रकमबाट आम्दानी १७ हजार ९२ र अन्य ५ हजार एकसे ५५ रुपियाँ आम्दानी भएको कुण्ड व्यवस्थापन समितिका सचिव केसीले जानकारी दिनुभयो ।
प्रवेश शुल्क र चन्दा सहयोगबाट सङ्कलन भएको रकममध्ये २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशत आन्तरिक राजस्व कार्यालयमा कर बुझाउने गरिएको कुण्ड व्यवस्थापन समितिले जनाएको छ । कुण्डको आम्दानी मध्यबाट १३ लाख ६४ हजार एकसे ९५ रुपियाँ तातोपानीस्थित सरस्वती माविका ६ जना निजी स्रोतबाट राखिएका शिक्षकको तलबमा खर्च गरिने गरिएको छ । तातोपानी कुण्डहरूमा पूर्वाधार निर्माण, व्यवस्थापन र प्रचारप्रसार गर्न सके स्थानीय तहको आम्दानी वृद्धि हुने आशा गरिएको छ ।