• १४ मंसिर २०८१, शुक्रबार

दुई खर्ब सहुलियतपूर्ण कर्जा बक्यौता

blog

काठमाडौँ, असार ३१ गते । राष्ट्र बैङ्कका अनुसार जेठ मसान्तमा एक लाख ४७ हजार ५१० ऋणीलाई प्रवाह भएको दुई खर्ब तीन अर्ब १० करोड रुपियाँ सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जा अन्तर्गत ६१ हजार २३५ ऋणीलाई प्रवाह भएको एक खर्ब ३९ अर्ब ६८ करोड रुपियाँ कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८३ हजार ४५५ महिला उद्यमीलाई प्रवाह भएको ६० अर्ब ४६ करोड रुपियाँ कर्जा बक्यौता रहेको छ ।

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत दुई हजार ८२० ऋणीको दुई अर्ब ९७ करोड कर्जा बक्यौता रहेको छ । ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु-याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा २०८० जेठ मसान्तसम्म ७२ करोड ५४ लाख बक्यौता रहेको छ ।

३९ खर्ब अन्तरबैङ्क कारोबार

चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा वाणिज्य बैङ्कहरूको ३६ खर्ब ४० अर्ब २१ करोड रुपियाँ र अन्य वित्तीय संस्था (वाणिज्य बैङ्कबिच बाहेक) को तीन खर्ब २१ अर्ब १७ करोड गरी कुल ३९ खर्ब ६१ अर्ब ३८ करोडको अन्तरबैङ्क कारोबार भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैङ्कहरूको २५ खर्ब ७६ अर्ब ६० करोड र अन्य वित्तीय संस्थाको दुई खर्ब ९८ अर्ब ९१ करोड गरी कुल २८ खर्ब ७५ अर्ब ५१ करोडको अन्तरबैङ्क कारोबार भएको थियो ।

मौद्रिक नीतिको सञ्चालन लक्ष्यका रूपमा लिइने औसत अन्तरबैङ्क ब्याजदर २०८० जेठमा ६.६९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो ब्याजदर ७.०० प्रतिशत रहेको थियो । वाणिज्य बैङ्कहरूको औसत आधारदर २०७९ जेठमा ९.३९ प्रतिशत रहेकोमा २०८० जेठमा १०.१८ प्रतिशत कायम भएको छ । २०८० जेठमा वाणिज्य बैङ्कको निक्षेपको भारित औसत ब्याजदर ७.९९ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२.५३ प्रतिशत रहेको छ ।

बढ्यो कर्जा प्रवाह

राष्ट्र बैङ्कका अनुसार चालु आवको जेठ मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा एक खर्ब ५७ अर्ब ३६ करोड रुपियाँ (३.४ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा पाँच खर्ब ५२ अर्ब ७१ करोड रुपियाँ (१३.५ प्रतिशत) ले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०८० जेठ मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ३.० प्रतिशतले बढेको छ । २०८० जेठ मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.६ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.४ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.३ प्रतिशत र ३६.७ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैङ्कहरूको कर्जा प्रवाह ३.२ प्रतिशतले, विकास बैङ्कको ६.० प्रतिशतले र वित्त कम्पनीको ०.९ प्रतिशतले बढेको छ । २०८० जेठ मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ११.६ प्रतिशत कर्जाका लागि चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) सुरक्षणका रूपमा रहेको छ भने ६८.० प्रतिशत कर्जाका लागि घरजग्गा धितो सुरक्षण रहेको छ ।

२०७९ जेठ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.३ प्रतिशत र ६६.८ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७९/८० को ११ महिनामा बैङ्क तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ६.६ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.४ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ७.६ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १६.७ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ४.० प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.३ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ६.७ प्रतिशतले बढेको छ ।