• २६ वैशाख २०८१, बुधबार

आठराई त्रिवेणीमा ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रम

blog

सुत्केरी महिलालाई पोषिलो खानेकुरा वितरण गर्नुहुँदै पालिका अध्यक्ष दीपेन्द्र पोमू।

चन्द्र पन्दाक

ताप्लेजुङ, असार २९ गते। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रम सुरु गरिएको छ। सुत्केरी महिला तथा शिशुको स्वास्थ्यलाई स्वस्थकर बनाउनमा सहयोग पुर्‍याउने उद्देश्यसहित गाउँपालिकाले कार्यक्रम सुरु गरेको हो। 

पोषण तथा सरसफाइ कार्यक्रमअन्तर्गत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सुरु गरिएको गाउँपालिकाकी उपाध्यक्ष शान्ताकुमारी आङ्बुहाङले जानकारी दिनुभयो। उपाध्यक्ष आङ्बुहाङका अनुसार कार्यक्रममार्फत सुत्केरी महिलालाई पोषिलो खानेकुरा वितरण गरिएको छ। गाउँपालिकाभित्रका सबै सुत्केरी महिलालाई कार्यक्रममार्फत पोषणयुक्त खानेकुरा वितरण गरिने उहाँले बताउनुभयो। 

सुत्केरीसँग उपाध्यक्ष कार्यक्रममार्फत वडा नम्बर १ निघुरादिनबाट सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा वितरण गर्न सुरु गरिएको छ। सुत्केरीलाई वितरण गरिएको पोषणयुक्त खानेकुरामा घिउ, अण्डा, चना, मटरसहितका सामग्री रहेको जनाइएको छ। निघुरादिनबाट सुरु भएको कार्यक्रम वडा २ फूलबारी हुँदै वडा ३ हाङ्पाङ तथा वडा ४ र ५ चाँगेसम्म नै कार्यान्वयन गरिनेछ।

यता बिहीबार कार्यक्रमको शुभारम्भ गर्दै पालिका अध्यक्ष दीपेन्द्र पोमूले सुत्केरी भएको समयमा पोषणयुक्त खाना ग्रहण गर्नुपर्ने र आमा तथा बच्चाको स्याहार तथा सफाइमा ध्यान दिनुपर्ने भएकाले गाउँपालिकाले सुरु गरेको कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो। ‘उपाध्यक्षसँग सुत्केरी आमा, स्वास्थ्य सरसफाइ साथै पोषिलो खाना’ भन्ने नारासहित सुरु भएको कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिनेगरी बजेट व्यवस्था गरेको गाउँपालिकाले जनाएको छ।