• ६ जेठ २०८१, आइतबार

मल नपाएको किसानको गुनासो

रासायनिक मल पर्याप्त मौज्दात रहेको सरकारको भनाइ

blog

काठमाडौं, असार २९ गते । सरकारसँग ५९ हजार चार सय ९२ टन रासायनिक मल मौज्दात छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार अहिलेसम्म सरकारसँग युरिया ४६ हजार ४५३ टन, डीएपी १२ हजार ९६८ टन र पोटास ७१ टन रासायनिक मल मौज्दात छ । 

जसमध्ये कृषि सामग्री लिमिटेडसँग २९ हजार ५८९ टन र साल्ट ट्रेडिङ कम्पनीसँग २९ हजार ९०३ टन मल मौज्दात छ । यसपालि कृषकलाई धानबाली लगाउँदा रासायनिक मलको अभाव झेल्नु नपरोस् भनेर सरकारले मलको मौज्दात र वितरण प्रणालीमा ध्यान दिएको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार यस वर्ष अधिकांश स्थानमा रोपाइँ गर्ने बेला सुरु भएकाले मलको अभाव हुन नदिन वितरण र मौज्दातलाई विशेष ध्यान दिइएको छ । चालु  आर्थिक वर्ष २०७९-८० मा सरकारले अहिलेसँगम्म गत आर्थिक वर्ष २०७८ -७९ को मौज्दातसमेत गरेर तीन लाख ३१ हजार १८ टन मल बिक्री गरेको छ । 

चालु आर्थिक वर्षको अहिलेसम्म तीन लाख ३४ हजार ५७२ टन मल आयात भएको छ । जसमा युरिया मलको आयात सबैभन्दा बढी भएको छ । 

उहाँले भन्नुभयो, “यस वर्ष किसानलाई धान लगाउने समयमा मलको अभाव झेल्नु नपरोस् भनेर मौज्दात र वितरण प्रणालीमा विशेष ध्यान दिएका छौँ । यसपाली मौज्दात ,वितरणको तथ्याङ्क र आयातको क्रममा रहेको तथ्यांक हेर्दा मलको समस्या हुने देखिन्न ।” अहिलेसम्म देशभर २७ प्रतिशत  मात्र धान रोपाइँ सम्पन्न भएको छ । 

अब धान रोपाइँको लागि एक लाख टन मल आवश्यक पर्ने भएकाले आयातको क्रममा रहेको मलको मात्रा अनुसार यो वर्ष मलको अभाव नहुने सञ्जेल बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “धान खेतीको लागि एक लाख ५० हजार टन मल आवश्यक पर्ने हो, जेठ यता ७५ हजार टन मल बिक्री भइसकेको छ ।अब एक लाख टन मल आवश्यक हो । जसमध्ये ५९ हजार टन मौज्दात छ । केही आयातकै क्रममा रहेकाले यो वर्ष मलको अभाव हुँदैन । ”

युरिया सबैभन्दा बढी विक्री भएको छ । प्रवक्ता सञ्जेलका अनृुसार युरिया मल दुई लाख १९ हजार ६५८ टन , डीएपी एक लाख चार हजार ९१७ टन र पोटास छ हजार ४४३ टन मल विक्री भएको छ । चालु आर्थिक वर्षको अहिलेसम्म तीन लाख ३४ हजार ५७२ टन मल आयात भएको छ । जसमा युरिया मलको आयात सबैभन्दा बढी भएको छ । 

युरिया मल दुई लाख २५ हजार ८१२ टन आयात भएको छ । डीएपी एक लाख आठ हजार ७५९ टन आयात भएको छ । पोटास भने आयात भएको छैन ।  साल्ट ट्रेडिङ कम्पनी लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडको सात हजार ५०० टन पोटास भारतको बिशाखापटनम्बाट नेपाल आयात हुँदै गरेको छ । 

यस्तै, साल्ट ट्रेडिङ कम्पनी लिमिटेडको २५ हजार टन डीएपी मल आयात हुने क्रममा छ ।  १३ हजार ५० टन मल नेपाल भित्रिसकेको छ । साल्ट ट्रेडिङ् कम्पनी लिमिटेडको २० हजार टन डीएपी मल कोलकक्ता आइसकेको छ भने एक हजार ९१८ टन मल नेपाल भित्रिसकेको छ । नेपाल भित्रिएको मलको भने गोदाममा इन्ट्रि हुन बाँकी छ ।

कृषि सामग्री कम्पनी लिमिटेडको २५ हजार टन डीएपी मल  असार मसान्तसम्म कोलकत्ता आइपुग्नेछ । कृषि सामग्री कम्पनी लिमिटेडको ३० हजार टन युरिया मल असार मसान्तसम्म नेपाल भित्रिन सुरु गर्नेछ । 

सरकारले किसानका लागि मल अभाव नभएको र मल सबै क्षेत्रमा पुगेको जनाएको छ । तर, अझै पनि वास्तविक किसानहरुले मलको अभाव झेलेकै छन् ।

यता राष्ट्रिय कृषक समूह महासँघ नेपालका  अध्यक्ष नवराज बस्नेतले सरकारले मलको विक्री भएको जनाए पनि वास्तविक किसानले भने अझै अभाव झेल्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले किसानका लागि मल अभाव नभएको र मल सबै क्षेत्रमा पुगेको जनाएको छ । तर, अझै पनि वास्तविक किसानहरुले मलको अभाव झेलेकै छन् ।” 

मधेश प्रदेशमा किसानहरुले २०-२५ किलो मात्र मलमा चित्त बुझाउनुपरेको उहाँको आरोप छ । बस्नेतले भन्नुभयो, “सरकारले मल किसानलाई दिएका छौँ । अझै केही मौज्दात छ त भन्छ । मधेशमा किसानहरुले भाग लगाएर २०-२५ किलो मलमा चित्त बुझाउनुपरेको छ ।” 

मल वितरण प्रणालीमा राजनीति भएका कारण कुनै ठाउँमा मल धेरै गएर थुप्रिने, कही भने मल नै नहुने अवस्था आएको उहाँको भनाइ छ । यस्तै भारतबाट अवैध रुपमा मल ल्याएर विक्री वितरण भइरहेकाले सरकारले मल वितरणमा ध्यान दिनुपर्ने उहाँ बताउनुहुन्छ ।

अखिल नेपाल किसान महासँघ क्रान्तिकारीका अध्यक्ष चित्र बहादुर श्रेष्ठले यसपाली किसानहरुले रासायनिक मलको अभाव भएको धेरै गुनासो नआएको बताउनुभयो ।उहाँले भन्नुभयो,“यसपालि किसानले रासायनिक मलको अभाव भयो भनेर गुनासो आएको सुनेका छैनौँ ।कतै वितरणमा समस्या छ भन्ने सुनिएको छ । यसलाई बुझ्छौँ ।”

यसपालि किसानले रासायनिक मलको अभाव भयो भनेर गुनासो आएको सुनेका छैनौँ ।

देशका सबै भूभागका किसानलाई समान रुपमा मलको आपूर्ति हुनुपर्ने भएकाले वितरणमा समस्या भएको भए सरकारको ध्यान जानुपर्ने उहाँ बताउनुहुन्छ । अखिल नेपाल किसान महासँघका अध्यक्ष प्रेम दंगालले तल्लो तहमा किसानलाई मलको समस्या नै रहेको बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, तल्लो तहमा किसानलाई रासायनिक मलको अभाव नै छ । काठमाडौंँ वरपरका जिल्ला, मधेश प्रदेशका जिल्लाहरुबाट गुनासो आइहन्छ । सरकारले मल मौज्दात भएको जनाए पनि किसानहरुले नपाउनु वितरण प्रणालीमा नै समस्या हुनसक्ने बुझाइ छ । 

उहाँले भन्नुभयो, “सरकारले किसानलाई यस पटक धान रोप्ने समयमा रासायनिक मलको अभाव हुन दिँदैनौँ भनेको छ । मल मौज्दात छ भनेको छ तर वितरण प्रणालीम समस्या भएर हो कि किसानले अझै अभाव झेलेका छन् ।”

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।