• २० असोज २०८१, आइतबार

धनकुटाका अधिकांश माछा पसल मापदण्डविपरीत

blog

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसहितको टोली अनुगमन गर्दै । तस्बिर: कविराज

कविराज घिमिरे 

हिले, असार २९ गते । धनकुटामा अधिकांश माछा पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाले बिहीबार आयोजना गरेको संयुक्त अनुगमनको क्रममा यस्तो पाइएको हो ।

जिल्लामा सञ्चालित करिब एक दर्जन माछा पसल अधिकांश खुल्ला स्थानमै सञ्चालन गरेको पाइएको हो । त्यस्तै माछालाई डिफ्रिज वा बरफ सँगै राख्नुपर्ने भए पनि त्यो समेत नगरेको पाइएको छ । त्यस्तै प्रतिबन्धित माछा समेत धनकुटामा बिक्री गरेको पाइएको कार्यालय प्रमुख लोकनाथ ढुङ्गानाले बताउनुभयो । त्यस्तै अधिकांश पसल दर्ता नगरी सञ्चालन गरेको समेत पाइएको उहाँको भनाइ छ । 

पहिलो पटक सचेत गरिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै धनकुटा तथा हिलेमा सञ्चालित वधशाला सरसफाइ नभएको पाइएको छ । मासु काट्ने स्थान तथा  मासुबाट निस्कने फोहोर व्यवस्थापनमा समस्या रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाका पशु प्रबिधि पुष्प दाहालले जानकारी दिनुभयो । अनुगमनकै क्रममा जिल्लामा सञ्चालित भेटेरिनरी पसलमा केहीमा म्याद सकिएको औषधि पाइएको उहाँले बताउनुभयो । 

जिल्लाको धनकुटा बजार, हिले र सिँदुवा बजारका दुई दर्जनभन्दा बढी भेटेरिनरी, मासु, माछा पसल र वधशालामा अनुगमन गरिएको हो । अनुगमनमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको टोली सहित जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र, खाद्य प्रविधि तथा गुण नियन्त्रण, घरेलु कार्यालयका प्रतिनिधिको उपस्थिति थियो ।