मकवानपुर समाचारदाता
हेटौँडा, असार २९ गते । बागमती प्रदेश सरकारले प्राकृतिक र गैरप्राकृतिक विपत्बाट प्रभावित किसानलाई राहत वितरण गरेको छ। प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले वितरण गरेको राहतबाट कृषि, पशुपन्छी तथा मत्स्य उत्पादनमा क्षति पुगेका प्रदेशभित्रका ४१ जना किसान लाभान्वित बनेका छन्।
मन्त्रालयले किसानलाई चालु आर्थिक वर्ष एक करोड ५७ लाख ७५ हजार १६० रुपियाँ वितरण गरेको जनाएको छ। विपत्बाट प्रभावित किसानको निवेदनका आधारमा प्रदेशको कृषि तथा पशुपन्छी विकासमन्त्री डा. राजेन्द्रमान श्रेष्ठको संयोजकत्वमा बनेको राहत व्यवस्थापन तथा निर्देशन समितिको बैठकले किसानलाई राहत रकम वितरण गर्ने निर्णय गरेको हो।
मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले प्रदेश सरकारले प्राकृतिक र गैरप्राकृतिक विपत्बाट प्रभावित किसानलाई नेपालमा नै पहिलो पटक राहत वितरण सुरु गरिएको भन्दै स्वीकृत भएको राहत रकम किसानकै खातामा जम्मा हुने व्यवस्था रहेको
जानकारी दिनुभयो। उहाँका अनुसार प्राकृतिक र गैरप्राकृतिक विपत्बाट कृषि, पशुपन्छी तथा मत्स्य उत्पादनमा क्षति पुगेका किसानले बढीमा १० लाख रुपियाँसम्म राहत रकम पाउने राहत वितरण कार्यविधिमा व्यवस्था रहेको छ।
अफ्रिकन स्वाइन फ्लुका कारण ६०–७० प्रतिशत र त्यसपछि टनेल खेती, हावाहुरी, असिनापानी, क्षति र रोगले बाख्राका पाठापाठी मरेको लगायतका कारणले क्षति पुगेका किसानलाई राहत प्रदान गरिएको छ। काभ्रे जिल्लामा धुलिखेल नगरपालिका–३ स्थित नोबेल कृषि फार्मलगायतका आठ वटा फार्र्म, चितवन जिल्लाको भरतपुर महानगरपालिका–६ को पाथीभरा पशुपालन तथा दाना उत्पादन केन्द्र प्रालिसहित १२ र नुवाकोट जिल्लामा धादिङ कृषि फार्मसहित दुई वटा फार्मले राहत पाउने गरी निर्णय भएको छ।
यसै गरी भक्तपुर, ललितपुर, धादिङ, सिन्धुली, मकवानपुर, दोलखा र काठमाडौँ जिल्लाका किसानले खाद्यान्न तथा तरकारी बाली, पशुपन्छी र मत्स्यतर्फ क्षति भए अनुसार राहत रकम पाएका छन्।
चालु आर्थिक वर्ष राहत वितरण गर्न तीन करोड रुपियाँ विनियोजन गरेको प्रदेश सरकारले आव २०८०/८१ का लागि पाँच करोड रुपियाँ छुट्याएको छ।