अविनाश चौधरी
धनगढी, असार २८ गते । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको विपक्षमा सत्तापक्षकै प्रदेश सभा सदस्यहरू उभिनुभएको छ ।
प्रदेश सभामा बजेटमाथिको छलफलमा भाग लिनुहुँदै उहाँहरू बजेटको विपक्षमा धारणा राख्नुभयो । आज दुई चरणमा बजेटमाथि गरिएको छलफलको क्रममा सत्तापक्षका प्रदेश सभा सदस्यहरूको प्रस्तुति प्रतिपक्षजस्तै देखिएको थियो ।
नेपाली कांग्रेसका बेलबहादुर रानामगरले सरकारको बजेटका कारण प्रदेश सभा सदस्यहरू आ–आफ्नो निर्वाचन क्षेत्रमा जानै नसक्ने अवस्था सिर्जना भएको बताउनुभयो । यो बजेट समानताको बजेट नरहेको जिकिर गर्नुहुँदै उहाँले संशोधन गर्न आग्रह गर्नुभयो ।
त्यस्तै, नेकपा (माओवादी केन्द्र) बाट प्रतिनिधित्व गर्नुहुने प्रदेश सभा सदस्य शिवसिंह ओलीले सरकारको बजेट जनप्रतिनिधि, जनता र सदनप्रति उत्तरदायी नरहेको टिप्पणी गर्नुभयो । “बजेटले न स्थानीय तहको योजना सम्बोधन गरेको छ, न त प्रदेशका माननीयहरूको योजना सम्बोधन गर्न सकेको छ” उहाँले भन्नुभयो । आफ्नो निर्वाचन क्षेत्रको क्रमागत योजना काटिएकोप्रति उहाँले आपत्ति जनाउनुभयो ।
यसैगरी, कांग्रेसबाट प्रतिनिधित्व गर्नुहुने प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले रातो किताब आइसकेकाले बजेटमाथि छलफलको कुनै औचित्य नरहेको बताउनुभयो । “संशोधन हुँदैन भने यत्रो पैसा र समय खर्चेर छलफल किन गर्नु ?” उहाँले थप्नुभयो, “रातो किताब छाप्ने बित्तिकै पास गरे भइहाल्यो नि !”
आफ्नो निर्वाचन क्षेत्रमा १७ वटा योजना परे पनि त्यसमा आफूसहित समानुपातिक प्रदेश सभा सदस्यको एउटा पनि योजना समावेश नरहेको उहाँको गुनासो छ । “ती कसका योजना हुन ?” बमले प्रश्न गर्नुभयो ।
कांग्रेसकै प्रदेश सभा सदस्य मेघराज खड्काले बजेटको प्राथमिकता र सिद्धान्त राम्रो भए पनि बजेट फरक ढङ्गले आएको बताउनुभयो । यसैगरी, सत्तारुढ गठबन्धन सहयात्री दल नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य खुशीराम डंगौरा थारुले सरकारको नीति तथा कार्यक्रम देखाउने एउटा, बजेट अर्को रूपमा आएको टिप्पणी गर्नुभयो ।
सरकारको बजेट यथार्थपरक नरहेको उहाँले जिकिर गर्नुभयो । बजेटबारे विभिन्न थलोमा भइरहेको छलफलको एउटै निष्कर्ष यो बजेट गलत छ भन्ने रहेको उहाँको भनाइ छ । बजेटमाथि सत्तापक्षकै प्रदेश सभा सदस्यको विमतिले सरकारमाथि नै नैतिक सङ्कटको प्रश्न चिन्ह खडा गरेको प्रतिपक्षी सांसदहरूको भनाइ छ ।
प्रतिपक्षी दल नेकपा (एमाले) का प्रदेश सभा सदस्य धर्मराज पाठकले भन्नुभयो, “बजेटमा सत्तापक्षकै सांसदको समर्थन छैन, मुख्यमन्त्रीप्रति सदनको विश्वास छ कि छैन भन्ने प्रश्न खडा हुन्छ । सत्तापक्षबाटै बजेटको विरोध हुनु मुख्यमन्त्रीले विश्वास गुमाएको होइन र ?”