• २३ वैशाख २०८१, आइतबार

स्थानीयद्वारा सडकमै धान रोपाइँ

blog

सडकमा रोपाइँ गर्दै स्थानीयहरु । तस्बिर : लिलाराज खड्का

लीलाराज खड्का

बिर्तामोड, असार २७ गते । ठेकेदार कम्पनीले समयमा बाटो नबनाएको भन्दै झापा बिर्तामोडका स्थानीयले सडकमै रोपाइँ गरेर विरोध जनाएका छन् ।  ठेकेदारको लापरबाहीका कारण हिँडडुलमै सास्ती भोग्नुपरेका स्थानीयको आरोप छ । बिर्तामोड नगर अस्पताल जाने सडकमा स्थानीयले धान रोपेका हुन् ।

बिर्तामोड –३ स्थित नगर अस्पताल जाने रङ्गशाला उन्नतिमार्गको सडक ठेकेदारको लापरबाहीका कारण अलपत्र परेर हिलाम्मे भएपछि स्थानीयले विरोधस्वरु सडकमै धान रोपेको बताएका छन् । 

कालोपत्रे र प्लमको ठेक्का लिएको ओमसाई निर्माण सेवाले ठेक्काको म्यादभित्र काम पूरा नगरेपछि अलपत्र बनेको सडकमा आवत–जावतका लागि निकै समस्या भएको स्थानीयको भनाइ छ । सेवाग्राही, स्वास्थ्यकर्मी र स्थानीयलाई सो बाटो भएर हिँड्न कठिन भएको  बताएका छन् । 

मानिसहरू बीचबाटोबाट हिँड्न नसकी प्लमबाट हिँड्नुपर्ने बाध्यता भएको भन्दै स्थानीयले विरोधस्वरुप सडकमै रोपाइँ गरेको बताएका छन् । बाटो अलपत्र पारेर छोड्दा सडकछेउको खाल्डोमा बालबालिका डुब्ने खतरा बढेको र   विद्यार्थी अस्पतालमा सेवा लिन आउने सेवाग्राहीलाई सास्ती भएकाले विरोधस्वरुप सडकमा धान रोप्नुपरेको स्थानीय छाया कडरियाले बताउनुभयो ।

४७१ मिटर लम्बाई र ८ मिटर चौडाइ कालोपत्रे र प्लम निर्माण गर्न ओमसाई निर्माण सेवाका प्रोप्राइटर सिटौलाले ८२ लाख ८३ हजार ३४६ रुपियाँमा ठेक्का पारेको थियो । फागुन १५ गते ठेक्का सम्झौता भएको निर्माण कम्पनीले   असार ५ मा काम सक्नुपर्ने म्याद रहेको थियो । म्याद सकिए पनि निर्माण कार्य सम्पन्न नहुँदा सडक हिलाम्मे बनेको छ ।

म्याद सकिँदासम्म ठेकेदार कम्पनीले मुस्किलले प्लमको काम मात्र मुस्किलले सकेका छन् । कालोपत्रे गर्नुअघि ग्राभेलसम्म गर्न नसक्दा सडक पुरै हिलाम्मे भएको छ । मानिसहरू त्यस बाटोबाट हिँड्न नसकी अन्यतिरबाट घुमेर अस्पताल जानेगरेका छन् । 

काममा निकै ढिलासुस्ती गरेपछि बिर्तामोड नगरपालिकाले ठेकेदार सिटौलालाई २ पटक लिखित चेतावनी दिइसकेको छ । ठेकेदारले अटेर गरेको बिर्तामोड वडा नम्बर ३ का वडा सदस्य हरि बाँस्कोटाले बताउनुभयो । नगर अस्पतालजस्तो संवेदनशील ठाउँमा जाने बाटो अलपत्र पारेर छाडेपछि विरोधस्वरुप सडकमै रोपाइँ गर्नुपरेको स्थानीयको भनाइ छ ।