• १३ मंसिर २०८१, बिहिबार

तनहुँ जलविद्युत आयोजना : प्रसारण लाइन निर्माणका लागि ६६ टावर जडान

blog

अमरराज नहर्की

तनहुँ, असार २७ गते । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधिन तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणका लागि ६६ वटा टावरको निर्माण सम्पन्न भएको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गत प्रसारण लाइन निर्माणका लागि हालसम्म सो सङ्ख्या पूरा भएको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख राजाभाई शिल्पाकारले जानकारी दिनुभयो । 

टावर फाउण्डेशन कार्य अन्तिम चरणमा पुगको समेत उहाँले जानकारी दिनुभएको हो । प्रशारण लाइन निर्माणका लागि टावर राख्ने तनहुँ र चितवनको जग्गाको मुआब्जा निर्धारण भई वितरण समेत ९८ प्रतिशत पूरा भएको शिल्पाकारले बताउनुभयो । दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण हुने आयोजनाले जनाएको छ । आयोजनाका अनुसार प्रसारण लाइन निर्माणका लागि कुल ९४ टावर निर्माण गरिनेछन् । प्रसारण लाइन निर्माणको काम भारतीय कम्पनी केइसीले पाएको छ ।

प्रसारण लाइन निर्माणका लागि कुल ५९ कित्ता ९२३ रोपनी पाँच आना जग्गा अधिग्रहण गरिएको छ । तनहुँतर्फ व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका–४ र ५ भित्र पर्ने जग्गा अधिग्रहण गरिएको हो । प्रसारण लाइन निर्माण सन् २०२२ मेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएकोमा कोभिड–१९ को महामारी र वन क्षेत्रमा रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ हुँदा केही ढिलाइ भएको हो । 

आयोजनाको पहिलो प्याकेज अन्तर्गत् १४० मिटर अग्लो बाँध लगायतका संरचना सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन प्रा.लि. नेपाल जे.भी.ले निर्माण गरिरहेको छ । जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक डाइभर्सन सुरुङ, बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने कार्य, प्रवेश सडकको स्तरोन्नति गर्ने लगायतका काम भइरहेका छन् ।

आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण लगायत अन्य काम दोस्रो प्याकेजमा सिनो हाइड्रो, चीनले गरिरहेको छ । आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबीले १५ करोड, जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार-नेपाल विद्युत प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । विद्युत् उत्पादनको पहिलो १० वर्षसम्म वार्षिक औसत विद्युत् उत्पादन ५८ करोड ७७ लाख, त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने आयोजनाले जनाएको छ ।