• १५ मंसिर २०८१, शनिबार

लायन्सको अन्तर्राष्ट्रिय निर्देशकमा बुर्लाकोटी निर्वाचित

blog

काठमाडौं, असार २६ गते । परोपकारी संस्था लायन्स क्लबको इन्टरनेशनल डाइरेक्टरमा बालकृष्ण बुर्लाकोटी निर्वाचित हुनुभएको छ । अमेरिकाको बोस्टनमा हालै सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनबाट उहाँ उक्त पदमा निर्वाचित हुनुभएको हो । 

विश्वका दुई सयभन्दा बढी देशमा लायन्स सक्रिय छ । बुर्लाकोटी लायन्सको विश्वभरका १८ जना इन्टरनेशनल डाइरेक्टरमध्येको एक हुनुहुन्छ । इन्टरननेशनल डाइरेक्टरको रूपमा उहाँले २०२५ सम्म कार्य गर्नुहुनेछ । 

बुर्लाकोटी लायन्स क्लब मल्टिपल डिस्ट्रिक तीन सय २५ नेपालका पूर्व अध्यक्ष समेत हुनुहुन्छ । सक्रिय लायन्स अन्तर्राष्ट्रियमा बुर्लाकोटीले आफ्नो गभर्नर कालमा धेरै नयाँ रेकर्ड बनाउन सफल हुनुभएको थियो । 

बुर्लाकोटीले लायन्सको सय वर्षको इतिहासमा पहिलो पटक एकै कार्यकालमा एक सय वटा क्लब खोलेर विश्व रेकर्ड बनाउनु भएको थियो भने दुई हजार आठ सय ६३ मेम्बरसिप ग्रोथ तथा सय वटा एमजेएफ कन्ट्रिव्युसन गराउन उहाँ सफल हुनुभएको थियो ।

नेपाली लायन्सको हरेक सदस्यहरू माझ भिजेर काम गरेकाले तथा देशभरका लायन्स सदस्यहरूको मन र विश्वासका कारण आफू इन्टरनेशनल डाइरेक्टरमा विजयी भएको बुर्लाकोटीले बताउनुभयो। इन्टरनेशनल डाइरेक्टरमा विजयी भएपछि उहाँले गोरखापत्रसँग भन्नुभयो, “नेपाल लायनिजमको विकास र विस्तारमा मेरो सक्रियता निरन्तर छ । आगामी दिनमा यो सक्रियतालाई अझै बढाउँदै नेपाललाई लायन्स मार्फत संसारभर चिनाउनेछु ।” 

लायन्सको अन्तर्राष्ट्रिय डाइरेक्टर बनेर संसारभर नेपालको झण्डा र राष्ट्रिय गानलाई चिनाउने अभियानमा लाग्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । साथै लायन्सको अन्तर्राष्ट्रिय डाइरेक्टर बनेपछि नेपालमा धेरै भन्दा धेरै स्थायी परियोजनाहरू ल्याउनमा भूमिका खेल्ने र बढी भन्दा बढी अवसर अन्तर्राष्ट्रियबाट सिर्जना गर्न आफू सक्रिय हुने उहाँले बताउनुभयो ।