• १८ मंसिर २०८१, मङ्गलबार

तारकेश्वर तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता हुने

blog

पत्रकार सम्मेलनमा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन, उपप्रमुख सिर्जना बुर्लाकोटीलगायत । तस्बिर : तारकेश्वर नगरपालिका

काठमाडौं, मङ्सिर १४ गते । काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिकाले तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने भएको छ ।  मङ्सिर १८ गते देखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ विधाका विभिन्न इभेन्टमा सामुदायिक र संस्थागत गरी जम्मा ५३ विद्यालयबाट तीन हजार ४५४ जना विद्यार्थी खेलाडी सहभागी हुने छन्। 

तारकेश्वरका प्रमुख कृष्णहरि महर्जनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, ‘‘विद्यार्थीहरुमा गत वर्षको तुलनामा खेलप्रतिको सहभागिता एवम् उत्साहमा अभिवृद्धि भएको छ। यस खेलको प्रचार तथा अपनत्व जनस्तरसम्म पुगेको छ। खेलकुदको क्षेत्रलाई अझ प्रभावकारी बनाउनु पर्ने मान्यतालाई हृदयङ्गम गरी यस वर्ष फुटबल खेललाई समेत थप गरी आठ विधाका विभिन्न इभेन्टमा करिब ३० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ।’’

मेयर रनिङ शिल्ड प्रतियोगिता खेलकुदको माध्यमबाट सामुदायिक तथा संस्थागत विद्यालयहरु बिच सौहार्दता सहकार्य, समन्वय र एकता भाव अभिवृद्धि भई विद्यालयहरु बिच स्वस्थ प्रतिस्पर्धा,  असल अभ्यासहरु आदान प्रदान गर्ने उपयुक्त वातावरण तयार हुने विश्वास नगरपालिकाले लिएको छ । 

खेलमा प्रथम र द्वितीय मेयर रनिङ शिल्ड प्रतियोगितामा जस्तै प्रतिस्पर्धी विद्यालय तथा विद्यार्थी खेलाडीलाई प्रमाण पत्र, शिल्ड, मेडलका अलवा प्रथम स्थान हासिल गर्ने विद्यालयलाई नगद एक लाख, द्वितीय स्थान हासिल गर्ने विद्यालयलाई नगद ६० हजार, तृतीय स्थान हासिल गर्ने विद्यालयलाई नगद ४० हजार र चौथो स्थान हासिल गर्ने विद्यालयलाई सान्त्वना स्वरुप नगद २० हजार रुपियाँ प्रदान गरिने छ।

यस प्रतियोगिता राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका, २०७० (पाँचौ संसोधन) को मापदण्ड भित्र रहेर सञ्चालन गरिनेछ । राष्ट्रपति रनिङ शिल्डमा समावेश भएका भलिबल, एथ्लेटिक्स, मार्सल आर्ट र कबड्डी खेलहरुका अतिरिक्त हामीले यस प्रतियोगितालाई थप आकर्षक र सहभागीतामूलक बनाउनको निमित्त फुटबल, बास्केटबल, टेवल टेनिस र व्याटमिन्टनजस्ता लोकप्रिय खेलहरुसमेत समावेश गरिएको छ। यस प्रतियोगितालाई निष्पक्ष र पारदर्शी बनाउन राष्ट्रिय खेलकुद परिषद्ले निर्धारण गरेको मापदण्ड बमोजिमका रेफ्रिहरुको व्यवस्था गरिएको छ। २०८१ मंसिर १८ गते सुरु भई मंसिर २५ गते समापन हुने छ ।