गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर १४ गते । नेकपा (एकीकृत समाजवादी) का प्रदेश कमिटी सदस्य कृष्णकुमार झासहित धनुषाका २१ जना कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । एमालेका महासचिव शंकर पोखरेलले शुक्रबार एमाले पार्टीको केन्द्रीय कार्यालय च्यासलमा उहाँहरूलाई खादा लगाई पार्टीमा स्वागत गर्नुभयो ।
एमालेमा प्रवेश गर्नुहुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा कमिटीका अध्यक्ष रामस्वरुप महतो, सदस्यहरू रामभजन साह, किशोरी साह, सोनफी साह, मञ्जो मुखिया, इन्दुदेवी मुखिया, चन्द्रावती देवीलगायत रहेको महासचिवको सचिवालयले जनाएको छ ।
लामो समय कम्युनिष्ट आन्दोलनका साथै नेकपा (एमाले) मा क्रियाशील एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य झाले अब जीवनभर एमालेमा रहेर पार्टी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नेकपा एकीकृत समाजवादीको औचित्य नभएको र भविष्य सकिएको पार्टी भएकाले आफू पुरानै घरमा फर्किएको बताउनुभयो ।