भावना जोशी
अत्तरिया, मङ्सिर १४ गते । कैलालीको धनगढीमा राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव आयोजना हुने भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको आयोजनामा पुस ९ गतेदेखि १५ गतेसम्म शैक्षिक महोत्सव हुने भएको हो ।
आयोजकले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान भन्ने नाराका साथ हुने शैक्षिक महोत्सव धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा आयोजना हुने जानकारी दिएको हो । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीका अध्यक्ष भीम पडालले सुदूरपश्चिम प्रदेशको शिक्षा, खेलकुद, पर्यटन,स्टेशनरी, मसलन्द तथा छपाई व्यवसायको विकास तथा संस्कृतिको प्रवद्र्धनका लागि महोत्सव भईरहेको जानकारी दिनु भयो ।
‘नवौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवबाट यस क्षेत्रको शैक्षिक, आर्थिक एवम् सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने आशा लिएका छौं,’ उहाँले भन्नु भयो ।’
महोत्सवमा एक सय ५० स्टल रहने छन् । महोत्सवलाई दुई लाख दर्शकले अवलोकन गर्नुका साथै पाँच करोड बढीको कारोबार हुने आयोजकले अनुमान गरेको छ । महोत्सव आयोजन गर्न झण्डै दुई करोड खर्च हुने अनुमान गरिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै कैलाली उद्योग वाणिज्य संकघका अध्यक्ष पुष्पराज कुँवरले धनगढीमा हुने शैक्षिक महोत्सवलाई सबैले मिलेर सफल पार्नुपर्ने बताउनु भयो । महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० टिकट दर राखिएको छ भने सर्वसाधारणलाई एक सय राखिएको छ । जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरुलाई महोत्सवमा प्रवेश निःशुल्कको व्यवस्था गरिएको छ । यसअघि २०६७ सालमा धनगढीमा राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव भएकोमा १४ वर्षपछि फेरि धनगढीमा आयोजना गर्न लागिएको हो ।