• १२ मंसिर २०८१, बुधबार

सुदूरपश्चिम प्रदेश सभामा बजेट छलफल अनिश्चित

blog

सुदूरपश्चिम प्रदेश सभा बैठकमा सदस्यहरु । तस्बिर : प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह

धनगढी, असार २५ गते । सुदूरपश्चिम प्रदेश सभाको १५ औं बैठकले असार ५ गते सडक दुर्घटनामा परी ज्यान गुमाएका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहप्रति शोक प्रस्ताव पारित गरेको छ । तर सभामा बजेटबारेको छलफल अनिश्चित रहेको छ ।

सोमबार दिउँसो ४ बजे बसेको बैठकले सर्वसम्मतीबाट शोक प्रस्ताव पारित गरेको हो । शोक प्रस्ताव सभामुख भीमबहादुर भण्डारीले पढेर सुनाउनु भएको थियो । 

बझाङको प्रदेश (क) क्षेत्रबाट निर्वाचित स्वर्गीय सिंहले लोकतान्त्रिक आन्दोलन र ग्रामीण विकासमा योगदान गर्नुभएको सभामुख भण्डारीले बताउनुभयो । सो अवसरमा स्वर्गीय सिंहको आत्माको चीर शान्तिका लागि दुई मिनेट मौनधारण गरिएको थियो । 

बजेटबारे सत्तापक्षवीच एकमत नहुँदा प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आर्थिक मामिलामन्त्री नरेशबहादुर शाहीले असार १ गते आर्थिक वर्ष २०८०–८१ का लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो । बजेट प्रस्तुत भएपछि अहिलेसम्म छलफलका लागि बैठक बस्न सकेको छैन । 

बजेट असारभित्र नै पारित गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सत्ता पक्षका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ती पार्टीका प्रदेश सभा सदस्यहरुले केन्द्रीय नेताहरुसँग समेत बजेटबारे असन्तुष्टि पोखिसकेका छन् । 

आइतबार यहाँ बसेको कांग्रेस संसदीय दलको बैठकमा प्रदेश सभा सदस्यहरुले चर्को असन्तुष्टि व्यक्त गरेका छन् । बैठक मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा बसेको थियो ।