• १४ जेठ २०८१, सोमबार

निर्माणाधीन खानेपानी आयोजना अलपत्र

blog

निर्माणाधीन खानेपानी आयोजना पानी ट्यान्की।

शिवशंङ्कर मिश्रा 

बारा, असार २५ गते । सम्बन्धित निकायको निष्क्रियताले करोडौँको निर्माणाधीन खानेपानी आयोजना अढाई दशकदेखी अलपत्र परेको छ । महागढीमाई नगरपालिका–१० गंजभवानीपुर टोलमा करिब २५ वर्षदेखी निर्माणाधीन अवस्थामा रहेको खानेपानी आयोजना ९५ प्रतिशत भौतिक पूर्वाधार तयार पुरा भएपनि यसको संरक्षण गर्ने निकाय मौन बसेको कारण खानेपानीको आयोजना अलपत्र परेको हो ।

सो टोलका वडा नम्बर ३ र १० को करिब एक हजार एक सय घरधुरीका ११–१२ हजार जनसङ्ख्या भएका स्थानीयलाई लक्षित गरी निर्माण कार्य पुरा भएपनि खानेपानीको आयोजना कहिल्यै पुरा हुने र गाउँवासीले पानी खाने सपना साकार हुने नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय गंजभवानीपुरको सभापति प्रभुलाल कुशवाहाले भन्नुभयो । नयाँ नयाँ आयोजना बढीमा तीन–चार वर्षभित्रमा स्थानीय सरकारले सपन्न गर्ने गरेका छन् भने यो आयोजनामा राम्रो कमाई नहुने भएकाले यसतर्फ वडा स्तरीय र नगर स्तरीयमा कसैको ध्यान नपुगेको उहाँले जानकारी दिनुभयो । 

खानेपानी र सरसफाइमा वडाध्यक्षको पहिलो जिम्मेवारी सहितको कर्तव्य रहेकोमा वडाध्यक्ष चन्दन कुमार पछि हटेको कुशवाहाको आरोप छ । ग्रामीण सडक निर्माण, ग्राभेल तथा नालासहितको सडक पक्की ढलान गर्ने क्रममा खानेपानी आयोजना अन्तर्गत टोलटोलमा बिछ्याइएको सानाठूला साइजको पाइप लथालिङ्ग अवस्थामा पुगेको स्थानीय मनोज साह तेलीले बताउनुभयो । यस टोलका दुईदुई पटक निर्वाचित भएका विधायक शारदाशंङ्कर प्रसाद साह, उप-मेयर तारा देवी कानु र वडाध्यक्ष उपेन्द्र प्रसाद जैसवाल, चन्दन कुमारले पूर्ण रूपले खानेपानी आयोजनामा आँखा बन्द गरेको स्थानीयको आरोप छ । 

अढाई दशकअघि खानेपानीको आयोजनाको कार्य सुरु भएपनि हालका दिनसम्म सोही टोलका वडा अध्यक्ष उपेन्द्र प्रसाद जैसवाल र १० नम्बर वडाध्यक्ष चन्दन कुमारसहितका स्थानीय अगुवाहरू कमाई हुने आयोजनामा केन्द्रित भएका कारण खानेपानीको आयोजना वर्षौँदेखि अलपत्र रहेको स्थानीय गणेश प्रसाद गुप्ताले गुनासो गर्नुभयो । (वडा नम्बर ३ र १० एकआपसमा गाँसिएका टोल गंजभवानीपुर रहेको छ ।)

खानेपानी आयोजना अन्तर्जगत् ५ प्रतिशत मात्र पाइप बिछ्याउने काम बाँकी रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाराका प्रमुख किशोरी प्रसाद यादवले बताउनुभयो । 

उहाँका अनुसार उपभोक्ता समिति निष्क्रिय भएपछि यो आयोजनामा केन्द्रीय तथा प्रादेशिक बजेट पनि वर्षोंदेखी नआएको छ, यसलाई सञ्चालनमा ल्याउन विधिवत् चालु–आर्थिक वर्ष ०८०/८१ को साउनदेखि यस कार्यमा लागेमा तीन–चार महिनाभित्रमा टोलटोलमा पानी खुवाउन सकिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

खानेपानी आयोजनाको उपभोक्ता समितिको बारेमा आफूलाई सम्पूर्ण जानकारी नभएको र चालु आर्थिक वर्षमा पानी घरघरमा वितरण गरिने १० नम्बर वडाका अध्यक्ष चन्दन कुमारले बताउनुभयो । जिल्लामा केही वर्षदेखी बन्द अवस्थामा रहेको बरियारपुरको खानेपानी आयोजना गढीमाईको पञ्च वर्षीय मेलामा मात्र सुचारु गरिन्छ । सधैँका लागि बरियारपुरका स्थानीयलाई खानेपानी पु¥याउन पाइपलाईमा सुधार गर्न आवश्यकता रहेको महागढीमाई नगरपालिकाको मेयर उपेन्द्र यादवले भन्नुभयो । 

जिल्लाका निजगढ तथा सिमरामा दुईदुई, डुमरवाना, पिलुवा, सिगौंल, सिम्रौनगढ, पथलैया, अमलेगंजमा उपभोक्ताहरूले खानेपानीको सही सदुपयोग गर्दै आई रहेको डिभिजन कार्यालयका इन्जिनियर शैलेन्द्र कुमार झाले जानकारी दिनुभयो । 

हालका दिनमा धर्मनगर, खप्परताता, सिसहनिया, प्रसौनी, कवहीजब्दी, कोल्हवी, मधुवन, गढ्हल, अमरपट्टी, बतरा, बिश्रामपुर, मझरिया, निजगढ र सिमरा तेस्रो लगायत बारा, पर्सा दुई जिल्लामा गरी ८० वटा खानेपानी आयोजना कार्यको तेस्रो चरणको कार्य अगाडी बढाइएको डिभिजन कार्यालयले जनाएको छ ।