लक्ष्मण पौडेल
भैरहवा, असार २५ गते । रुपन्देहीका शतप्रतिशत बालबालिकामा पूर्ण खोप सुविधा पुगेको छ । सबै बालबालिकाले खोप सुविधा पाएपछि अब सिङ्गो जिल्लालाई यही असार २९ गते पूर्ण खोप सुनिश्चित घोषणा गरिने भएको छ ।
जिल्लामा रहेका १६ वटा पालिकामध्ये सोमबार दुई वटा पालिकाले पूर्ण खोप घोषणा गरेसँगै जिल्लाका सबै बालबालिका खोपको पहुँचमा पुगेका हुन् । सोमबार रुपन्देहीको कोटईमाई गाउँपालिका र सम्मरी माई गाउँपालिकाले पालिका पूर्ण खोप घोषणा गरेका छन् ।
जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले सोमबार सम्मरी माई र कोटहीमाई गाउँपालिका पूर्ण खोप घोषणा भएसँगै पूर्ण खोप जिल्ला घोषणाका लागि प्रदेशमा पत्राचार गरिएको बताउनुभयो । पत्राचारपश्चात् अब यही असार २९ गते रुपन्देही जिल्ला पूर्ण खोपयुक्त जिल्ला घोषणा हुन लागेको हो ।
खोप अधिकृत शर्माका अनुसार भैरहवामा एक विशेष कार्यक्रम आयोजना गरी रुपन्देही जिल्ला पूर्णखोप युक्त जिल्ला बन्नेछ । १६ वटा पालिका रहेको रुपन्देही जिल्लाका दक्षिण क्षेत्रमा भारतीय सीमाक्षेत्रमा रहेका कोटहीमाई गाउँपालिका र सम्मरीमाई गाउँपालिकाले पूर्ण खोप घोषणा नगर्दा रुपन्देही पूर्ण खोप जिल्ला हुन पाएको थिएन ।
जन्मिएका बालबालिकाले जो १५ महिनामुनिका हुन्छन्, उनीहरुले अनिवार्य रुपमा आधारभूत खोप लगाउनुपर्ने हुन्छ । जुन खोप नलागाएका बालबालिकाहरुबाट छुट भएका बालबालिकाहरुलाई खोप लगाएर शत प्रतिशत खोप लगाएपछि मात्रै पूर्ण खोप जिल्ला घोषणा गर्न सकिने प्रावधान रहेको खोप अधिकृत शर्माले बताउनुभयो । रुपन्देही जिल्लामा हालसम्म २० हजार बढी बालबालिकाले खोप लगाइसकेको शर्माको भनाइ छ ।
स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख गौरव ढकालले खोप नलगाएका बालबालिकाहरुबाट छुट भएका बालबालिकाहरुलाई पनि खोप लगाइसकिएको बताउँदै अब भने शत प्रतिशत खोप लगाएकाले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न लागिएको बताउनुभयो ।