• १३ मंसिर २०८१, बिहिबार

मुख्यमन्त्री पाण्डेबाट अस्पताल निरीक्षण

blog

पोखरा समाचारदाता

पोखरा, असार २५ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्क्रामक तथा सरुवा रोग अस्पतालको सेवा बिरामीका लागि छिटोछरितो र सहुलियतपूर्ण हुनुपर्ने धारणा राख्नुभएको छ। 

उक्त अस्पतालको निरीक्षण गर्नुभएका मुख्यमन्त्री पाण्डेले हाल भइरहेकोभन्दा थप स्तरीय र विस्तारित सेवा दिन अस्पताल प्रशासनलाई निर्देशन दिनुभयो। उहाँले भन्नुभयो, “सेवा थप सुधार गरेर यहाँ आउने बिरामीलाई सहुलियतपूर्ण र सजिलो गरी सुविधा दिन जरुरी छ।” सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका बिरामीबाट अन्य रोगका बिरामीमा सङ्क्रमण नहोस् भन्ने उद्देश्यले उपचार सेवामा विषेश ध्यान दिनसमेत मुख्यमन्त्री पाण्डेले सुझाव दिनुभयो । 

बिरामीको अवस्था, उपचार गराउन आउने दर, प्रविधि र उपकरणको उपलब्धता, जनशक्तिको अवस्था, भौतिक अवस्थालगायतका बारेमा उहाँले जानकारी लिनुभएको हो। यसैबिच, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव विनोदबिन्दु शर्मा, डा. विकास गौचनलगायतले अस्पतालको अवस्थाका बारेमा मुख्यमन्त्री पाण्डेलाई जानकारी गराउनुभएको थियो। 

सोही क्रममा अस्पतालमा उपचार गर्न आउने बिरामीको सजिलोका लागि -याम्प निर्माण भए पनि लिफ्ट नहुँदा समस्या हुने गरेको जानकारी डा. गौचनले मुख्यमन्त्रीलाई गराउनुभयो। अस्पतालले छिट्टै डायलासिस सेवा सुरु गर्न आवश्यक तयारीका साथै अस्पतालबाट जनरल ओपिडी सेवासहित बिरामी भर्ना तथा उपचार सेवा नियमित हुँदै आएको छ। 

मुख्यमन्त्री पाण्डेले बिरामीको सुरक्षाका लागि लिफ्ट राख्न जरुरी भएको बताउँदै -याम्प भएर आउजाउ गर्ने ठाउँ पनि व्यवस्थित गर्नुपर्नेतर्फ सङ्केत गर्नुभयो। पोखरा महानगरपालिका–३० स्थित प्रदेश सरकार मातहतको उक्त अस्पतालको निर्माणाधीन भवनको निरीक्षण गर्दै मुख्यमन्त्री पाण्डेले छिटो गरी काम सम्पन्न गराउनुपर्नेमा जोड दिनुभयो।