• १० पुस २०८१, बुधबार

संसद्लाई शीर्ष दलको सिन्डिकेट बनाउन खोजियो : सभापति लामिछाने

blog

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ।

काठमाडौं, असार २४ गते। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्लाई प्रमुख तीन राजनीतिक दलले आफ्नो सिन्डिकेट बनाउन खोजेको आरोप लगाउनुभएको छ। आइतबार नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति लामिछानेले संसद्लाई कांग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र) का सांसदले आफ्नो सिन्डिकेट बनाउन खोजेको आरोप लगाउनुभएको हो। 

उहाँले तीन राजनीतिक दलहरूका बीचमा सल्लाह मिल्दा संसद् चल्ने र सल्लाह नमिल्दा संसद् नचल्ने भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले दलहरूले पटक–पटक यस्तो गरेको भन्दै अब आफूहरूले नसहने बताउनुभयो। उहाँले आपसमा सल्लाह नगरी जुनकुनै मुद्दा संसदमा लिएर आउन आग्रह गर्नुभयो। 

उहाँले भन्नुभयो, ‘सदन तीन नेताको होइन। सदन प्रतिपक्षको हो अझ बढी। सार्वभौम जनताले चुनेर पठाएका जनप्रतिनिधिले जनताका कयौँ सवालमा कुराकानी गर्नुपर्नेछ। उहाँहरूको सल्लाह मिल्यो भने संसद् चल्ने भयो। नमिल्दाखेरी संसद् नचल्ने भयो। संसदमा स्वतन्त्र रूपमा जितेर आउनुभएको मानीज्यूको पनि उत्तिकै भूमिका रहन्छ। संसद्लाई संसद्जस्तो बनाउनुपर्छ।’’ 

उहाँले आफूहरू मिटरब्याज पीडितहरूको पक्षमा नरहेको प्रचार गरिएको भन्दै त्यसमा सत्यता नरहेको बताउनुभयो। आफूहरू मिटरब्याज पीडितको लागि आएको अध्यादेशको पक्षमै रहेको उल्लेख गर्दै उहाँले अन्तिम दिनमा संसदमा ल्याउनु नै सरकारको गल्ती भएको बताउनुभयो। उहाँले आफूहरू संसद् सुचारु रूपमा चलोस् र प्रधानमन्त्रीले संसदबाट जवाफ दिनुपर्ने पक्षमा रहेको स्पष्ट पार्नुभयो। 

उहाँले भन्नुभयो, ‘‘हामीले यत्ति कुरा भनेका हौँ कि यो महत्त्वपूर्ण अध्यादेशमार्फत आएको मिटरब्याजसम्बन्धी विषय थियो। यसको पक्षमा हामी थियौँ। सरकारले यस्तो महत्त्वपूर्ण कुरालाई अन्तिम दिनमा ल्याएर के गर्न खोजेको हो ?’’ सभापति लामिछानेले यसअघिको बैठकमा एमालेका सांसदहरूले बोलेपछि सभामुखले आफूहरूलाई बोल्न नदिएर सबै प्रतिपक्षको आवाज नै त्यही हो भन्ने भाष्य निर्माण गरिएको बताउनुभयो। उहाँले रास्वपाको आफ्नै अडान र मुद्दा रहेको उल्लेख गर्दै त्यसमा आफूहरू अडिग रहेको बताउनुभयो।