• १३ मंसिर २०८१, बिहिबार

पदयात्रा पर्यटनसँग जोडिँदै कफुचे हिमताल

blog

कफुचे हिमताल । तस्बिर : रासस

पोखरा, असार २४ गते। कास्कीको मादी गाउँपालिका –१ मा पर्ने कफुचे हिमताललाई पदयात्रा पर्यटनसँग जोड्ने गरी पहल बढाइएको छ। पछिल्ला समयमा यस क्षेत्रमा बढ्दै गएको पर्यटकको आकर्षणसँगै स्थानीय तहदेखि प्रदेश र सङ्घ तीनवटै सरकारको प्राथमिकतामा यहाँको पदमार्गले स्थान पाउन थालेको हो। आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै गएको यो ताललाई नेपालको सबैभन्दा कम उचाइमा रहेको हिमतालका रूपमा समेत लिने गरिएको छ। 

समुद्री सतहबाट दुई हजार चार सय ५० मिटर उचाइमा रहेको यो ताल पछिल्ला समयमा पर्यटकको रोजाइमा पर्न थालेसँगै स्थानीय तहले पनि यसको प्रवर्द्धन र विकासलाई प्राथमिकतामा राखेको मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङग गुरुङले बताउनुभयो। “कफुचे हिमताल मादी गाउँपालिकाको मात्र नभई दशेकै गौरव हो, यसको प्रवर्द्धन र विकास गरेर आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने हाम्रो लक्ष्य छ”, उहाँले भन्नुभयो।

पर्यटकीय नगरी पोखराबाट नजिकै रहेको कला संस्कृतिले भरिपूर्ण नेपालकै ठुलो गुरुङ गाउँ सिक्लेसबाट एक दिनको पदयात्रामा यसस्थानमा पुग्न सकिन्छ। यहाँको विकास तीनवटै सरकारको प्राथमिकतामा रहेको बताउँदै उहाँले सङ्घबाट पोखरा सिक्लेस, ताङतिङ हुँदै मनाङ जोड्ने पदमार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने तयारी गरेको उहाँले बताउनुभयो।

गण्डकी प्रदेश सरकारले मादी गाउँपालिका–७ को थाकबाट ताराहिल टप हुँदै कफुचेसम्मको पदमार्गका लागि रु २५ लाख विनियोजन गरेको उहाँले बताउनुभयो। त्यस्तै प्रदेशबाटै सिक्लेस कफुचे पदमार्गका लागि पाँच लाख विनियोजन गरिएको छ। 

गाउँपालिकाले अघिल्लो वर्षदेखि नै सिक्लेसबाट कफुचेसम्मका लागि ५० प्रतिशत अनुदानमा घोडा खरिद गर्ने गरी कार्यक्रम अघि सारेको थियो। यसको कार्यविधि पनि तयार भइसकेको र आगामी आर्थिक वर्षमा पनि यस कार्यक्रमलाई निरन्तरता दिने उहाँले बताउनुभयो। 

अन्नपूर्ण दोस्रो र चौथो हिमालको बीचबाट आएको हिमपहिरो पग्लिएर बनेको यो ताल लगभग एक हजार दुई सय वर्गमिटरमा फैलिएको छ। उक्त क्षेत्रमा पहिले पहिले विभिन्न भेडी गोठ रहे पनि अहिले भने छैनन्। 

कफुचे नामाकरण सम्बन्धमा स्थानीयवासीको भिन्नाभिन्नै तर्क छ। स्थानीय गुरुङ भाषामा ‘क’ भनेको हिउँको थुप्रो, ‘फु’ भनेको पग्लनु र ‘चे’ भनेको समथर ताल हो। हिउँ पग्लेर बनेको हुनाले यस ताललाई ‘कफुचे’ भन्ने गरिएको बताइन्छ। 

स्थानीयवासीका अनुसार करिब डेढ दशकअघिसम्म हिउँको थुप्रो रहेको सो स्थानबाट नै आवतजावत गर्न सकिन्थ्यो। पछिल्ला समयमा बर्सेनि बढ्दै गएको जलवायु परिवर्तनको असरका कारण हिउँ पग्लेर ताल बनेको स्थानीयवासी बताउँछन्।

सिक्लेस–कफुचे मार्गमा पर्ने हुँगु यस क्षेत्रको प्राचीन भेडी गोठ रहने क्षेत्र हो। कफुचेको यात्राका क्रममा सिक्लेसबाट राम्रो हिँड्न सक्नेहरू लगभग साढे तीन घण्टामा हुँगु पुग्न सक्छन्। हिँड्न नसक्नेका लागि भने चारदेखि पाँच घण्टासम्म लाग्ने गर्दछ। हुँगु पुगेका पर्यटक हिँड्न सक्ने एक घण्टामा कफुचे पुगे पनि नसक्नेका लागि डेढ दुई घण्टासम्म लाग्ने गर्दछ।

पछिल्ला समयमा जथाभाबी बाटो खन्ने क्रमसँगै पदमार्ग हराउँदै गएका अवस्थामा सिक्लेस-कफुचेलाई नयाँ पदमार्गका रूपमा विकास गर्न सकिने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशका अध्यक्ष धर्मराज पन्थीले बताउनुभयो। त्यस क्षेत्रमा सन् २००७/८ सिक्लेस हुँदै नमुना पास भएर तिमाङ पदमार्गको टानले प्रवर्द्धन गरेको बताउँदै अध्यक्ष पन्थीले मादी गाउँपालिकाको याङजाकोटबाट दूधपोखरी हुँदै क्होलासोँथर निस्कने पदमार्गको प्रवर्द्धनलाई पनि प्राथमिकतामा राखिएको बताउनुभयो।

“कफुचे ताललाई पदयात्रा पर्यटनसँग जोड्न सकेमा यहाँ ठुलो सङ्ख्यामा स्वदेशी एवम् विदेशी पर्यटक आकर्षित गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “पदमार्ग क्षेत्रको प्रवर्द्धन, विकास सँगै पर्यटक लक्षित पूर्वाधार विकासमा तीनवटै तहको साथ र सहयोग आवश्यक छ।” रासस