• २० असोज २०८१, आइतबार

गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा

blog

राजकुमार भट्टराई 

खोटाङ, असार २४ गते । खोटाङका ग्रामीण क्षेत्रका गर्भवती महिलाले निःशुल्क एम्बुलेन्स सेवा पाउने भएका छन् । जिल्ला सदरमुकामभन्दा टाढा रहेको खोटेहाङ गाउँपालिकाले एम्बुलेन्स खरिद गरेर सञ्चालनमा ल्याएसँगै गर्भवती महिलाले निःशुल्क र अन्य बिरामीले सुलभ सेवा पाउने भएका हुन् ।

खोटेहाङ गाउँपालिकाभित्रका स्वास्थ्य संस्थासम्म गर्भवती महिलाहरूलाई एम्बुलेन्सले निःशुल्क सेवा दिने गाउँपालिका अध्यक्ष उदिमबहादुर राईले बताउनुभयो । अवस्था जटिल भएर काठमाडौं लानुपरेमा राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तर्गत हेलिकोप्टरमार्फत गर्भवती महिलाहरूले सेवा पाइरहेका छन् । तसर्थ पालिकाभरिका स्वास्थ्य संस्थामा लान एम्बुलेन्स निःशुल्क गरिएको उहाँको भनाइ छ ।  जिल्ला सदरमुकाम दिक्तेल, छिमेकी जिल्ला भोजपुर, उदयपुरको गाईघाटसम्म लानुपर्ने अवस्था आएमा पनि गर्भवती महिलाका लागि एम्बुलेन्स निःशुल्क हुने अध्यक्ष राईले बताउनुभयो ।

केही समय अघिसम्म युके समाजले सहयोग गरेको एम्बुलेन्स खोटेहाङ गाउँपालिकामा सञ्चालनमा थियो । तर हाल उक्त एम्बुलेन्स बिग्रिएर थन्किएको हुँदा जटिल अवस्थाका बिरामीहरूलाई अस्पताल लान नसक्ने अवस्था  थियो । महँगो भाडा तिरेर गाडीमा अस्पताल लानुपर्ने नागरिकको समस्या गाउँपालिकाले खरिद गरेको एम्बुलेन्सले अन्त्य गर्ने गाउँपालिका उपाध्यक्ष रुपेश राईको विश्वास छ । एम्बुलेन्स नहुँदा जटिल अवस्थाका बिरामीहरूलाई धेरै पटक जनप्रतिनिधि चढ्ने गाडीमार्फत उद्धार गरिँदै आएको उपाध्यक्ष राईले बताउनुभयो । 

गर्भवती महिलाका लागि निःशुल्कसँगै अन्य बिरामीका लागि पनि तेल खर्चमात्र उठ्ने भाडादर राखिने उहाँको भनाइ छ । चालकलाई तलब र मर्मत खर्च गाउँपालिकाले बेहोरेर तेल खर्च उठ्ने गरी भाडादर कायम गरेर नागरिकलाई सुलभ रूपमा एम्बुलेन्स सेवा सञ्चालन गरिने उपाध्यक्ष राईले बताउनुभयो ।