• १३ मंसिर २०८१, बिहिबार

स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै वालिङ

blog

राधाकृष्ण डुम्रे

वालिङ, असार २४ गते । वालिङ नगरपालिकाले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । पालिकाभित्र कृषि तथा गैरकृषि गरी दुवै क्षेत्रका स्थानीय उत्पादकलाई प्रोत्साहन गर्ने नीति पालिकाले लिएको हो । 

स्थानीय उत्पादन बढाउने र त्यसको सहज बजार व्यवस्थापन पनि गर्ने योजनाका साथ वालिङमा स्थानीय उत्पादनको प्रदर्शनी समेत गरिएको छ । नगरपालिकाले गण्डकी प्रदेश सरकारसँग मिलेर सञ्चालन गरिरहेको ‘उद्यमशीलता व्यवसाय प्रवर्द्धन तथा नवप्रवर्द्धन केन्द्र–ईबिक’ परियोजना मार्फत गरिएको प्रदर्शनीमा उत्कृष्ट घोषित भएका १७ जना उद्यमीलाई पुरस्कृत गरिएको हो । 

नगरपालिकाको समन्वयमा सञ्चालन भएको प्रदर्शनीमा ४० जना उत्पादकले आफूले उत्पादन गरेका वस्तुहरुको प्रदर्शन गरेका थिए । निर्णायक समितिले उद्यमीको दर्ता, वस्तु, स्थानीय उत्पादन, अन्यलाई दिइएको रोजगारीको अवसर, उद्यमी र उद्योगको दिगोपना लगायतलाई आधार मानेर उत्कृष्ट छनोट गरिएको पालिकाले जनाएको छ । उत्कृष्ट हुने उद्यमीहरुले जनही पाँच हजार पाँच सय र प्रमाणपत्र प्राप्त गरेका छन् ।

उत्कृष्ट उद्यमीहरुलाई पुरस्कार वितरण गर्दै वालिङ नगर उपप्रमुख कविता तिवारी गैह्रेले उद्यमीहरुलाई हौसला प्रदान गर्नका लागी कार्यक्रम राखिएको बताउनुभयो । वालिङका उद्यमीहको प्रवर्द्धन गर्नका लागी बजेट नै विनियोजन गरी अगाडि बढिएको भन्दै उपप्रमुख तिवारीले उद्यमी तथा अर्गानीक वस्तु उत्पादनको शहरको रुपमा वालिङलाई विकास गरिने जानकारी गराउनुभयो । 

कार्यक्रममा निर्वतमान नगरप्रमुख दिलीप प्रताप खाँणले स्थानीय स्रोतसाधनको उपयोग गरी उद्यमशीलतामा अगाडि बढ्न सकिने भन्दै उद्यमशीलताको प्रवर्द्धन बिना नगरको विकास सम्भव नरहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा यूएनडिपिका गण्डकी तथा लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले स्थानीय उत्पादनलाई बढाउने तथा त्यसको बजारीकरणमा ध्यान दिन काम गर्नुपर्ने बताउनुभयो । ईबिक मार्फत उद्यमशीलता र व्यवसायको प्रवर्द्धन तथा नविनतम सोचको व्यावहारिक प्रयोगका लागि महत्वपुर्ण काम गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विगत चार वर्षदेखि वालिङ नगरपालिकाले ईबिक मार्फत महत्वपूर्ण काम गरिहरेको छ ।”

कार्यक्रम वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय संस्थाका अध्यक्ष ल्यामबहादुर गुरुङले स्थानीय उत्पादनको बजारीकरणका लागि आफूहरुले समन्वय गरिरहेको जानकारी दिनुभयो ।