• १४ वैशाख २०८१, शुक्रबार

झोलुङ्गे पुल बनेपछि स्थानीय लाभान्वित

blog

मालिका गाउँपालिका –४, ओखरबोटको चिउरीबोटस्थित छिपछिप खोलामा निर्माण भएको झोलुङ्गे पुलको उदघाटन कार्यक्रम । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल

म्याग्दी, असार २३ गते । हिमाली जिल्ला म्याग्दीको पश्चिम भेगमा पर्ने मालिका गाउँपालिका –४, ओखरबोटको चिउरीबोटस्थित छिपछिप खोलामा निर्माण भएको झोलुङ्गे पुलबाट आठसय भन्दा बढी स्थानीय लाभान्वित भएका छन् । 

छिपछिप गाउँको छिपछिप खोलामाथि निर्माण भएको झोलुङ्गे पुलबाट १ सय ७५ घरधुरीका ८ सय ७८ जनसंख्या लाभान्वित भएको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो । मालिका गाउँपालिका, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमको आर्थिक सहयोगमा छिपछिप खोला झोलुङ्गे पुल निर्माण भएको हो । 

छिछिप खोला झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिद्वारा निर्मित उक्त पुलको उद्घाटनपछि ग्रामीण भेगका बासिन्दालाई सहज भएको छ । झोलुङ्गे पुल निर्माण गर्न प्रादेशिक प्राविधिक सहयोगी निकाय (पीटीएपी) पोखरा, झोलुङ्गे पुल सहयोग इकाई (टीबीएसयु) पोखरा र मिलन म्याग्दीले प्राविधिक तथा सामाजिक सहयोग उपलब्ध गराएका थिए । 

नवनिर्मित झोलुङ्गे पुलको उदघाटनसँगै सार्वजनिक लेखापरीक्षण समेत गरिएको छ । पुल निर्माणका लागि गाउँपालिका र उपभोक्ता समितिको बीचमा २०७९ साल वैशाख १५ गते निर्माण सम्झौता भएको थियो । 

पुल निर्माणका लागि कुल ३३ लाख ५९ हजार ८९ रुपियाँ लागत अनुमान गरिएकोमा गाउँपालिकाले पुलको आवश्यक सामग्री (स्टिल पाट्र्स) कम लागतमा खरिद गरेको हुँदा पुल निर्माणमा यथार्थ खर्च भने ३२ लाख ५५ हजार चारसय ५९ रुपियाँ भएको उपभोक्ता समितिले जनाएको छ । 

पुल निर्माण अवधिमा कुल तीन हजार पाँच सय २६ दिन रोजगारी सिर्जना भएकोमा पुरुष एक हजार सात सय ८४ र महिला तीन सय ७३ जनाले रोजगारी पाएका थिए । पुल निर्माण गर्न कुल लागतको केन्द्रीय अनुदान २६ लाख ६३ हजार चारसय ८३ रुपियाँ, मालिका गाउँपालिकाको चार लाख ३६ हजार छ सय ८१, लठ्ठासहित बुल्डग ग्रिप्स सहयोग एक लाख ९१ हजार सात सय ४२ र समुदायबाट ६७ हजार एक सय ८१ रुपियाँ लगानी भएको उपभोक्ता समितिले जनाएको छ । 

५८ मिटर लामो झोलुङ्गे पुलको चौडाई १ मिटर ६ सेन्टिमिटर, खोलादेखि पुलसम्म फ्रिबोट पुलको उचाई ९ मिटर ३० सेमी, पुलको जाली १ मिटर १० सेमी रहेको छ भने दुई हजार पाँच सय टन भारवहन क्षमता रहेको निर्माण पक्षले जनाएको छ ।