• १५ जेठ २०८१, मङ्गलबार

बिक्री कौशल सिकाउने ‘बिक्री कला’

blog

बजार अर्थतन्त्रको सबैभन्दा केन्द्रमा हुन्छ– उत्पादित वस्तु तथा सेवाको योजनाबद्ध वितरण र नाफा । त्यसका लागि वस्तु तथा सेवाको उपयोग गर्ने सही ग्राहकको पहिचान गरेर बिक्री गर्ने कौशल आवश्यक पर्छ । निरन्तरको प्रयास, अध्ययन र बजारको मिहिन अनुसन्धानपछि यस्तो कौशल हासिल हुन सक्छ । कतिपयलाई उसको व्यवहारजन्य कारणले नै आधारभूत कौशल प्राप्त हुन्छ भने धेरैका लागि यो निरन्तर मेहनतको विषय हो । 

बिक्री गर्ने कौशल अर्थात् ‘मार्केटिङ’ वर्तमान विश्व बजारको सबैभन्दा अत्यावश्यक सिप हो । व्यक्ति, संस्थादेखि देश र महादेशले समेत आफूसँग उपलब्ध वस्तु तथा सेवाको अधिकतम प्रचार गर्न/गराउन चाहन्छन् र त्यसबाट लाभ हासिल गर्न खोज्छन् । लाभ त्यसैले पाउँछ, जसले सही तरिकाले मार्केटिङ विधि अपनाउँछ । यस्तै विधिको ज्ञान दिने उद्देश्यसहित प्रकाशित पुस्तक हो ‘बिक्री कला’ । कथा, उपन्यास, कविताले भरिभराउ नेपालको पुस्तक बजारमा यस किसिमको पुस्तकको प्रकाशन आफैँमा सबैभन्दा थोरै गरिने प्रयास त हो नै, त्यसमाथि बढ्दो उपभोक्तावादी संस्कृति भएको नेपाल जस्तो मुलुकमा वस्तु तथा सेवाको बिक्री सिकाउने प्रयत्न पनि । 

अभिकर्ताबाट बिमा क्षेत्रमा तालिमको नेतृत्व प्रदान गर्ने भूमिका सम्म पुग्नुभएका कमलबहादुर पाण्डेले लेख्नुभएको यो पुस्तकको नामले नै पुस्तकका विषयवस्तुका बारेमा सहजै अनुमान गर्न सकिन्छ । ३७६ पृष्ठको पुस्तकको अध्ययन पूरा हुँदासम्म बजार अर्थतन्त्रमा आवश्यक बिक्री कलाबारे धेरै जान्न सकिन्छ । विभिन्न पाँच अध्याय समेटिएको पुस्तकमा वस्तु तथा सेवालाई बिक्री वितरण गर्न आवश्यक सिप, योजना र व्यवस्थापनका विषयमा विभिन्न सूत्र प्रस्तुत गरिएको छ । नेपालसम्बन्धी तथ्य तथ्याङ्कबाट सुरु भएको पुस्तकको दोस्रो अध्यायमा छोटा–छोटा १३९ वटा कथा समेटिएका छन्, जसलाई लेखकले ‘सकारात्मक सोचमा आधारित कथाहरू’ नाम दिनुभएको छ । पुस्तकको विषय प्रवेश जस्ता लाग्ने यी कथाहरू रोचक छन् । कतिपय कथाहरू कतै सुनिएको जस्तो लागे पनि पढ्दा रमाइलो नै अनुभूत हुन्छ । तेस्रो अध्यायमा समावेश गरिएका बुँदागत ‘सफलताका सूत्रहरू’लाई लेखकले अत्यन्त कम सङ्ख्यामा उल्लेख गर्न सकेको भए त्यो प्रभावकारी हुन सक्थ्यो । यद्यपि बिमा क्षेत्रमा लक्ष्य प्राप्तिका लागि गर्नुपर्ने काम, लक्ष्य निकाल्ने तरिका, लुगा लगाउने नियम, क्यालेन्डर बनाउने तरिका जीवन बिमामा आफ्नो भविष्य देख्नेका लागि उपयोगी हुन सक्छन् । 

‘जानकारीमूलक सन्देशहरू’ समेटिएको अध्याय चारमा देश विदेशसँग सम्बन्धित रोचक जानकारीहरू र सफलता, सोच, लक्ष्य, शब्द शक्ति, सफलताका गुण, समस्या समाधानका उपाय, स्वास्थ्य तथा योग र व्यावसायिक देखिन आवश्यक सन्देशहरू समेटिएका छन् । ‘सकारात्मक ज्ञानका कुराहरू’ शीर्षक दिइएको अन्तिम अध्यायमार्फत लेखकले पाठकलाई ऊर्जा भर्ने प्रयत्न गर्नु भएको पाइन्छ । सफलता प्राप्तिका उपाय, गल्ती सुधार्ने तरिका, स्मरण शक्ति बढाउने कला, आम्दानी बढाउने उपाय, योजनालाई फत्ते गर्ने प्रक्रियाका बारेमा जानकारी दिइएको छ । 

समग्रमा पुस्तकले सकारात्मक बानी विकास गर्ने र त्यसलाई आफ्नो व्यावसायिक जीवनमा उपयोग गरेर सफलता प्राप्त गर्न सक्ने कुरालाई केन्द्रमा राखेको छ । त्यसका लागि पर्याप्त उदाहरण, कथा, सूत्र पनि पुस्तकमा प्रयोग गरिएको छ । पुस्तकको सुरुवातमै लेखकले आफ्नो व्यावसायिक जीवनका सानादेखि ठुला सबै उपलब्धिको तस्बिर समावेश गरेर इमानदार बन्ने प्रयास गर्नु भएको देखिन्छ । यद्यपि पुस्तकमा धेरै विवरण तथा जानकारी समेटिएकोले पाठकलाई ध्यान एकत्रित हुन कतिपय अवस्थामा समस्या हुन सक्छ । बिक्री तथा व्यवस्थापनसँग सम्बन्धित पुस्तकको मूल्य धेरै नै हुने भए पनि नेपालको सन्दर्भमा यसको मूल्य (एक हजार पाँच सय रुपियाँ) धेरै बढी हो । अन्त्यमा, बिमा क्षेत्रमा प्रवेशको चाहना राख्नेले यो पुस्तकबाट पक्कै लाभ लिन सक्ने छन् ।