• १२ साउन २०८१, शनिबार

प्रधानमन्त्रीसँग वीरसिंहको भलाकुसारी : छोराको उपचारभन्दा देशको चिन्ता

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग वीरसिंह भण्डारी कुराकानी गर्नुहुँदै ।

काठमाडौँ, असार २२ गते । बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका–६ निवासी ८९ वर्षीय वीरसिंह भण्डारीले प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग खुलेर कुरा गर्नुभएको छ । 

राजनीतिमा मौलाएको विकृति र विसङ्गतिको आक्रोश पोख्न पाए मन शान्त हुने बताउनुहुने उहाँ लामो समयदेखि सिंहदरबार धाइरहनुभएको थियो । आफ्ना ५५ वर्षीय छोराको उपचारका लागि प्रधानमन्त्रीलाई भेटेर आग्रह गर्ने पनि उहाँको अभिलाषा थियो । 

उहाँले प्रधानमन्त्रीलाई भेट्न खोजेको कुरा थाहा पाउनेबित्तिकै प्रधानमन्त्री प्रचण्डले पनि आफ्नै कार्यालयमा आमने–सामने भएर वीरसिंहसँग सुखदुःखका कुरा गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।

“मैले प्रधानमन्त्रीसँग मेरो मनको बह पोख्न पाउँछु नि ?” भन्दै प्रधानमन्त्रीको कार्यकक्षमा जानेबेला भण्डारीले प्रधानमन्त्री कार्यालयका सहयोगीहरूसँग सोध्नुभएपछि ‘सबै कुरा निर्धक्कसाथ भन्न पाउनुहुन्छ’ भन्ने जवाफले उहाँको मन शान्त भयो । उहाँलाई आफ्नो छोराको उपचारसँगै राजनीतिमा मौलाएको व्यक्तिवाद र विसङ्गतिविरुद्ध प्रधानमन्त्रीसमक्ष कुरा सुनाउने इच्छा थियो । ९० वर्ष पुग्न लाग्नुभएको उहाँ कान कम सुन्नुहुन्छ । त्यसैले उहाँ प्रधानमन्त्रीको कार्यकक्षको सोफामा बसेर एकछिन मौन हुनुभयो । फेरि प्रधानमन्त्रीसँग मनभरिका कुरा गर्न तत्काल उठेर प्रधानमन्त्रीलाई नमस्कार गर्नुभयो ।

यस्तो व्यवहारले प्रधानमन्त्रीलाई अलि असजिलोसमेत भयो । उहाँले अलि ठुलो स्वरमा वीरसिंहलाई सोध्नुभयो, “बा ! कति वर्ष हुनुभयो ?” वीरसिंहको जवाफ थियो, “८९ पुगेँ ।” 

त्यसपछि वातावरण अलि सहज भयो । वीरसिंहले आफू २०१५ सालदेखि नै बहुदलका पक्षमा रहेदेखिको कुराबाट उहाँले आफ्नो सबै बेलिबिस्तार लाउनुभयो । उहाँले व्यक्तिगत कुराभन्दा पनि ‘बहुदलीय व्यवस्थामा पुरानै संस्कार रहेको’ भन्दै बढी दुःखेसो पोख्नुभयो । निर्दलको ठाउँमा बहुदल आए पनि दल र नेतामा पुरानै संस्कार र प्रवृत्ति रहेको दुःखेसो उहाँको थियो ।

“तपाईं अरूभन्दा फरक हुनुहुन्छ । तपाईंले जस्तै कडा भएर सरकार चलाउन सके जनताले केही पाउँथे कि ?” उहाँले प्रधानमन्त्रीलाई भन्नुभयो, “व्यवस्था नयाँ र संस्कार पुरानो होइन, अब राजनीतिक संस्कार पनि नयाँ बनाउने गरी काम गर्नुहोला । आशा तपाईंबाट मात्रै छ । बहुदल खराब होइन, यसलाई चलाउने खराब भए । अहिले तपाईंले केही गर्न खोजे जस्तो लागिरहेको छ ।”

यस्तो भनिरहँदा वीरसिंह कति भावविह्वल हुनुभयो भने आफ्नो परिवारको व्यथा नै सुनाउन सक्नुभएको थिएन । सो कुरा सुनेपछि प्रधानमन्त्रीले उहाँको विचारप्रति सहमत हुँदै सोध्नुभयो, “तपाईंले भनेको कुरा मैले पनि मनन गरेको छु । अहिले कोसँग कहाँ बस्नुहुन्छ ? तपार्इंको घरपरिवारको के कस्तो छ ?”

त्यसपछि बल्ल वीरसिंह व्यक्तिगत जीवनबारे सुनाउनतिर लाग्नुभयो । नेपालमा चलेको सशस्त्र जनयुद्धमा लागेको आफ्नो एक मात्र छोरो बेपत्ता भएको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “शान्ति प्रक्रियापछि पनि छोरा फर्किएन, छोराको नाम बेपत्ता योद्धाको सूचीमा थियो । तर २० वर्षपछि अचानक छोरा घर फर्कियो तर श्वाससम्बन्धी बिरामी भएर । अनि मैले प्रशासनलाई मेरो छोरा फर्कियो । मलाई बेपत्ताको भत्ता खानु छैन, उसको उपचार गरिदिनुप¥यो भनेर बिन्ती बिसाएँ ।”

प्रधानमन्त्रीले यतिका वर्ष छोरा कहाँ रहेछन् त भनेर सोध्दा उहाँले दिल्लीमा रहेको र बिरामी भएपछि मात्रै परिवारको सम्पर्कमा आएको बताउनुभयो ।

छोराको उपचारका लागि सिंहदरबार धाउन थालेको बताउँदै उहाँले गृहमन्त्रीसमक्ष समेत अपिल गरेको र गृह मन्त्रालयले वडा कार्यालयमार्फत उपचारको पहलका लागि वचन दिएको बताउनुभयो ।

यति भनिसेकपछि उहाँ फेरि राजनीतितिरै फर्किनुभयो । “व्यवस्था राम्रो हो तर व्यवस्था अनुसार शासन चलेन । तपाईं जस्तै दरो भएर उभिने चाहिन्छ । खुट्टा नकमाउनुहोला ।”

समय धेरै बितिसिकेको थियो तर पनि प्रधानमन्त्रीले उहाँको अहिलेको बसाइ, हेरचाह, आर्थिक जीविकालगायतका कुरा गरेर भलाकुसारी गर्नुभयो अनि छोराको उपचार खर्च सरकारबाट उपलब्ध गराउने बताउँदै स्वास्थ्यलाभको कामना पनि गर्नुभयो । प्रधानमन्त्रीले त्यहाँ उपस्थिति सचिवालयका सदस्यहरूलाई निर्देशन दिँदै भन्नुभयो, “उहाँलाई के कस्तो सहयोग गर्नुपर्ने हो, त्यो प्रक्रिया अघि बढाउनूस् ।”

प्रधानमन्त्रीको प्रतिबद्धतासँगै प्रधानमन्त्रीका सचिवालयका सदस्यहरूलाई उपचारसम्बन्धी सबै प्रक्रिया चाँडै मिलाउन निर्देशन दिएपछि खुसी र आशाको अनुहारसाथ उहाँ आफ्नो कुरा सुनाउन पाएकोमा वीरसिंह औधी सन्तोष देखिनुहुन्थ्यो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग देशका दूरदराजका मानिसले पनि भेट्न सक्छन् भन्ने उदाहरण हो वीरसिंहको यो भेट हो । उहाँलगायत धेरैले प्रधानमन्त्रीलाई भेटेर सुझावसहित आफ्ना समस्या सुनाउने गरेका छन् ।  यसैबिच प्रधानमन्त्री प्रचण्डलाई भेटेर प्रफुल्लित वीरसिंहले नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा पुगेर आफूले प्रधानमन्त्रीलाई भेटेर आएको कुरा सुनाउनुभएको थियो ।