• २४ वैशाख २०८१, सोमबार

प्रयोगात्मक अङ्कले उकास्यो नतिजा

blog

काठमाडौँ, असार २२ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा गत वर्षको तुलनामा सुध्रिएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको २०७९ सालको नतिजा अनुसार माथिल्लो ग्रेड ल्याएर उत्तीर्ण हुने परीक्षार्थीको सङ्ख्यामा गत वर्षको तुलनामा यस पटक उल्लेख्य सुधार देखिएको छ । 

तर प्रयोगात्मक अङ्क दिइने विषयमा विद्यार्थीले उच्च ग्रेड ल्याएका छन् भने प्रयोगात्मक अङ्क प्रदान नगरिने विषयमा धेरै विद्यार्थीले ई ग्रेड ल्याएका छन् । बोर्डले विद्यार्थीको प्राप्ताङ्क अनुसार विषयगत रूपमा सबैभन्दा उच्च अङ्क ल्याउनेलाई ए प्लस र सबैभन्दा कम ल्याउनेलाई ई ग्रेड दिएको छ । 

अनिवार्य र ऐच्छिक गणितबाहेक सबै विषयमा २५ नम्बरको प्रयोगात्मक अङ्क प्रदान गरिन्छ । नतिजा हेर्दा प्रयोगात्मक अङ्क प्रदान गर्न नमिल्ने भएका कारण अनिवार्य गणित विषयमा सबैभन्दा धेरै अर्थात् एक लाख ५५ हजार ४५८ जनाले ई ग्रेड मात्रै ल्याएका छन् । जब कि प्रयोगात्मक अङ्क प्रदान गर्न मिल्ने भएकै कारण अनिवार्य अङ्ग्रेजी र अनिवार्य विज्ञानमा यो ग्रेड ल्याउने परीक्षार्थी क्रमशः ४०७ र एक हजार ७२१ जना मात्रै छन् । हाल कार्यान्वयनमा ल्याइएको लेटर ग्रेडिङ निर्देशिका अनुसार परीक्षार्थीले सैद्धान्तिक र प्रयोगात्मक दुवैतर्फ ल्याएका अङ्कलाई जोडेर ग्रेड निर्धारण गरिन्छ । यसले गर्दा सैद्धान्तिकमा थोरै अङ्क ल्याउनेले पनि प्रयोगात्मकतर्फको अङ्कको सहयोगका कारण माथिल्लो ग्रेड ल्याएको देखिन्छ । आगामी वर्षदेखि भने हरेक विषयमा सैद्धान्तिकतर्फ अनिवार्य ३५ अङ्क ल्याउनै पर्ने व्यवस्था लागु हुँदैछ । 

नतिजा अनुसार यस पटक ३.६० देखि ४ जिपिए २२ हजार ४७५ जनाले ल्याएका छन् । यति नै जिपिए ल्याउने विद्यार्थी सङ्ख्या गत वर्ष नौ हजार ६३३ मात्रै थिए ।  

त्यस्तै ३.२० देखि ३.६० जिपिए ५५ हजार ६९ जनाले ल्याएका छन् भने गत वर्ष ४१ हजार ६२७ जनाले यति नै जिपिए ल्याएका थिए । त्यस्तै २.८० देखि ३.२० जिपिए ल्याउने परीक्षार्थी यस पटक ७२ हजार ३६२ छन् भने गत वर्ष ६९ हजार नौ सय थिए । 

यस पटक २.४० देखि २.८० जिपिए ल्याउने परीक्षार्थी ८९ हजार ३३१ छन् । त्यस्तै गत वर्ष ९० हजार ७५८ थिए । त्यस्तै जिपिए दुईदेखि २.४० एक लाख दुई हजार २९३ जनाले यस पटक ल्याए । गत वर्ष एक लाख १२ हजार ७३३ जनाले यति नै जिपिए ल्याएका थिए । 

त्यस्तै १.६० देखि दुई जिपिए ल्याउने परीक्षार्थी यस पटक ८८ हजार ४४७ जना छन् । गत वर्ष एक लाख पाँच हजार ९४ जनाले यति नै जिपिए ल्याएका थिए । जिपिए १.२० देखि १.६० ल्याउने परीक्षार्थी यस पटक ३८ हजार ७७० छन् भने गत वर्ष यति नै जिपिए ल्याउने ४४ हजार ५८६ थिए । 

अन्तिम ग्रेड अर्थात् जिपिए ०.८० देखि १.२० ल्याउने परीक्षार्थी यस पटक दुई हजार दुई सय छन् । यस वर्ष यही ग्रेड समूहका परीक्षार्थी तीन हजार २८० थिए । यस पटकको नतिजामा सुधार आउनुमा तीन वटा कारण मुख्य रहेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताउनुभयो । उहाँका अनुसार विगतका वर्षहरूमा कोभिड १९ का कारण विद्यार्थीको पढाइमा समस्या भएकाले नतिजा पनि प्रभावित थियो । यस पटक भने विद्यार्थीले भौतिक रूपमै कक्षामा गएर पढ्न पाएकाले सिकाइमा पनि सुधार भएको र त्यसको सकारात्मक नतिजा परीक्षामा देखिएको शर्माले दाबी गर्नुभयो । 

त्यस्तै बोर्डले यसै वर्षदेखि एसइईमा गणित, विज्ञान र अङ्ग्रेजी विषयमा स्तरीकृत परीक्षा प्रणाली लागु गरेको थियो । यस व्रmममा बोर्डले सजिला, मध्यम र कठिन प्रश्नपत्र तयार गरेको थियो । विद्यार्थीमा परीक्षण गराउँदा कमजोर विद्यार्थीलाई कठिन प्रश्न उपयुक्त नभएको र अब्बल विद्यार्थीलाई सजिलो प्रश्न उपयुक्त नभएको देखिएपछि मध्यम प्रश्नपत्र तयार गरिएको थियो । यही विधि तीनवटा विषयको एसइईमा पनि लागु गरिएको र नतिजामा सुधार आएको बोर्डको भनाइ छ । 

  

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।