राममणि दाहाल
हेटौँडा, असार २१ गते । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रदेश सभाबाट बहुमतले पारित भएको छ । प्रदेश सभाको बिहीबार बसेको बैठकले आगामी आवको बजेट पारित गरेसँगै प्रदेश सरकारलाई आगामी साउन १ गतेदेखि बजेट कार्यान्वयन गर्ने बाटो खुलेको छ ।
प्रदेश सभाको बैटकले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा तामाङले प्रेस सभामा पेस गर्नुभएको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८० र आर्थिक वर्ष २०८०/०८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्नेसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० बहुमतले स्वीकृत गरेको हो ।
अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८० माथिको छलफलमा प्रदेश सभा सदस्य सिर्जना सायजु र डा. दिनेशचन्द्र देवकोटा छलफल सहभागी हुनुभएको थियो ।
यसअघि प्रदेश सभाका सदस्य कृष्णप्रसाद सिलवाल, रामेश्वर श्रेष्ठ, मधुसूदन पौडेल, केशवप्रसाद पोखरेल, प्रकाश श्रेष्ठ, डा. दिनेशचन्द्र देवकोटा, सुरेन्द्रराज गोसाइ, सिर्जना सायजु र भारती पाठकले विभिन्न मन्त्रालय बजेटमा राख्नुभएको खर्च कटौतीको प्रस्ताव प्रदेश सभा बैठकले बहुमतले अस्वीकृत गरेको छ ।
मन्त्री तामाङले आगामी आवको योजना र कार्यक्रम कार्यान्वयन गर्न असार १ गते ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपियाँको बजेट ल्याउनुभएको थियो । प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।