• १० पुस २०८२, बिहिबार

चारवटा अजिङ्गरको उद्धार

blog

फाइल फोटो

पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, पुस १० गते ।
पश्चिम नवलपरासीको बसहिया गाउँ क्षेत्रमा देखिएका  चारवटा विशाल अजिङ्गरहरूको बुधबार उद्धार गरिएको छ । बैदौली पुल नजिकै फेला परेका ती अजिङ्गरहरूलाई सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएर सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो ।

त्रासका बिच सफल उद्धार
बसहिया गाउँका विभिन्न स्थानमा एकैपटक चारवटा अजिङ्गर देखिएपछि स्थानीय बासिन्दा त्रसित बनेका थिए । बस्ती नजिकै यति ठुलो सङ्ख्यामा अजिङ्गर देखिनुले जोखिम बढाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

खबर प्राप्त हुनासाथ बसहिया चौकी र सशस्त्र प्रहरीको टोलीले सतर्कता अपनाउँदै चारवटै अजिङ्गरलाई कुनै चोटपटक लाग्न नदिई र मानवीय क्षति हुन नदिई नियन्त्रणमा लिई उद्धार गरिएको हो ।

नदी क्षेत्रमा व्यवस्थापन
प्रहरीले नियन्त्रणमा लिएका ती अजिङ्गरहरूलाई पछि बैदौली पुल नजिकैको नदी क्षेत्रमा लगि सुरक्षित रूपमा छाडेको छ । बस्तीबाट टाढा प्राकृतिक बासस्थानमा सर्पहरूलाई छाडिएपछि स्थानीयवासीले राहतको महसुस गरेका छन् ।

प्रहरीको आग्रह
सशस्त्र प्रहरीले यस्ता जङ्गली जनावर वा सर्पहरू बस्तीमा देखिएमा आफैंले मार्ने वा जिस्क्याउने जस्ता जोखिमपूर्ण कार्य नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । यस्ता घटना भएमा तुरुन्तै नजिकको प्रहरी चौकी वा वन कार्यालयलाई जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ । प्रहरीको यो सक्रियतालाई स्थानीय समुदायले उच्च प्रशंसा गरेका छन् ।