• १२ मंसिर २०८१, बुधबार

चार स्वास्थ्यचौकी पोषणमैत्री घोषित

blog

स्याँडा स्वास्थ्य चौकीलाई पोषणमैत्री घोषणा कार्यक्रम । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, असार २१ गते । चार वटा स्वास्थ्य चौकीहरु पोषणमैत्री स्वास्थ्य संस्थाका रुपमा घोषित भएका छन् । घोषणा हुन आवश्यक सुचक स्वास्थ्यचौकीले पूरा गरेपछि पहिलो पटक सिमकोट गाउँपालिकाले चार वटा स्वास्थ्यचौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरेको हो । 

गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले यसरी पोषणमैत्री घोषणा हुनका लागि निर्धारित १६ वटा सुचक पूरा गरेको हुनुपर्ने नियमअनुसार चार वटै स्वास्थ्यचौकीले पूरा गरेपछि घोषणा गरिएको बताउनुभयो । स्वास्थ्यचौकीलाई पोषणमैत्री घोषणाका लागि निर्धारित सुचकमा गर्भवती महिलाले कम्तिमा आठ पटक पूर्व प्रसुती जाँच गरेको, सुत्केरी महिलाले कम्तिमा तीन पटक उत्तर प्रसुती जाँच गरेको, गर्भवती महिलाले गर्भ अवधिभरी १८० चक्की आइरन फोलिक एसिड खाएको हुनुपर्ने सूचक छ ।

त्यसैगरी, अन्य सुचकहरुमा स्वास्थ्य संस्थामा जन्म भएका बालबालिकामध्ये जन्मेको एक घण्टाभित्र स्तनपान गर्ने शिशुको प्रतिशत ६ देखि ५९ महिनाका बालबालिकाले वर्षमा दुई पटक भिटामिन ‘ए’ क्याप्सुल पाएको, बाह्रदेखि ५९ महिनाका बालबालिकाले वर्षका दुई पटक जुकाको औषधि पाएको, २४ महिलासम्मका बालबालिकाले नियमित बृद्धि अनुगमन गरेको, कम तौल भएका शिशुको जन्मसङ्ख्या, पूर्ण खोपयुक्त स्वास्थ्य संस्था भएको, पूर्ण मात्रामा बालभिटा पाएका बालबलिकाको सङ्ख्या, बालबालिकालाई झाडापखाला लागेकाबेला जिंक चक्की र पूनर्जलीय झोल खुवाउने गरेको, २६ हप्तासम्म आइरन फोलिक एसिड चक्की पाएका किशोरीको प्रतिशत लगायतका छन् । 

सुचकबाट अङ्कभार कुल १६ मध्ये १५ अङ्क ल्याउने स्वास्थ्यचौकीलाई पोषणमैत्री घोषणा गर्न सकिने प्राबधानअनुसार चार वटै स्वास्थ्यचाौकीले १५ अङ्क प्राप्त गरेर घोषित भएको बताउनुभयो । घोषित भएका सिमकोट गाउँपालिका–२, ३, ७ र ८ वडाका क्रमशः ठेहे, बरगाउँ, डाँडाफया र स्याँडा स्वास्थ्यचौकी रहेको र त्यहाँ ओटिसी सेन्टर, स्तनपान कक्ष, पोषण कर्नर र स्वास्थ्य तथा सरसफाई कर्नर स्थापना गरी पोषणमैत्री रहेको प्रमाणित गर्दै चारै स्वास्थ्य चौकीलाई एक कार्यक्रमबीच घोषणा गरिएको हो । 

निर्धारित सूचक पूरा गरेपछि सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीले एक कार्यक्रमबीच स्वास्थ्य संस्थालाई पोषणमैत्री स्वास्थ्य संस्थाका रुपमा घोषणा गर्नुभयो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सुशिला रोकाया, वडा अध्यक्ष, जिल्लाका सरोकारवाला निकायको सहभागिता थियो ।