• ७ मंसिर २०८१, शुक्रबार

यसरी पनि बजाइयो घण्टाघरको घडीमा बाह्र

blog

काठमाडौं, असार २१ गते । देशको एक पुरातात्विक धरोहर घण्टाघर । झण्डै एक सय ३० वर्ष पहिले वीर शमशेरको पालामा स्थापना भएको घण्टाघर समयसँगै निकै जीर्ण अवस्थामा छ । नेपालमा त्यो बेलादेखि एक मात्र समयसूचक बनेर जिउँदो इतिहासको रुपमा सङ्घीय राजधानीको मुटुमा ठिङ्ग उभिएको छ ।

घण्टाघरको घडीमा मध्यान्ह १२ बज्दा टुँडीखेलका सैनिकले तोप पड्काउँथे । राजधानी वरपर हिँड्ने बटुवा यही घडीको समय हेरेर हिँड्थे । विसं. २०४४ देखि घण्टाघरको घण्टीमा दम दिँदै आउनुभएका एक्ला प्राविधिक हुनुहुन्छ गणेश सापकोटा । घडी बजाउँदाको स्मरणीय क्षण सम्झदै उहाँले भन्नुभयो, “एक पटक भारतसँग नेपालको समय पाँच मिनेट फरक भयो । त्यो बेला अञ्चलाधीशले त्रिचन्द्र क्याम्पसमा पत्र पठाएको रहेछ । अनि रातिको पाैने १२ बजे घण्टाघरमा सुई मिलाउन आएको छु ।”

काठमाडौं उपत्यकामा करिब दश, १२ वर्ष अघिसम्म कम्तीमा रातको समयमा भए पनि घण्टीको आवाज सुन्न सकिन्थ्यो । तर, अचेल ध्वनि प्रदूषणका कारण घण्टाघर छेउमै पनि घण्टी बजेको आवाज सुन्न हम्मेहम्मे छ । विसं. २०३९ मा यो घडीमा आगलागी भयो । त्यतिबेला भारतबाट प्राविधिक झिकाएर मर्मतको कार्य भयो । त्यसको दुई, तीन वर्षमा फेरि बिग्रियो । 

अहिलेसम्म घण्टाघरको घण्टी बजाउने उहाँ एक्लो प्राविधिक हुनुहुन्छ । यो घडी पुरातात्विक महत्वको भएकाले यसको अतिरिक्त पार्टपुर्जा छैन । यो घडी सञ्चालन तथा मर्मतका लागि छोटो समयमा सिक्न सम्भव पनि छैन । 

त्रिचन्द्र क्याम्पसमा विद्युतीय तथा प्राविधिकको काम गर्दै आउनुभएका सापकोटालाई घण्टाघरको घडी बनाउन पहिलो पटक प्रस्ताव आएको थियो । घडी नै नदेखेका उहाँलाई घडी बनाउने दक्ष प्राविधिक सीप थिएन, थियो त केवल आत्मविश्वास र आत्मबल । यही आत्मबलको आडमा घडी बनाउन सक्छु भन्ने लाग्यो उहाँले भन्नुभयो, “घडी देखेपछि कसरी चलाउने होला भनेर सुरुमा डर लाग्यो । त्यो बेला म १३ दिन, १३ रात यहीँ बसेको छु । एउटा–एउटा दाँतीलाई एक, डेढ घण्टा हेरेर अध्ययन गरें ।”

त्यसयता उहाँको जीवनको दैनिकी नै फेरियो । उहाँले २४ सै घण्टा तीन सय ६५ दिन नै घण्टाघरको घडी नियमित सुचारु एवम् रेखदेख गर्नुप¥यो । उहाँले भन्नुभयो, “एक हिसाबले पिँजडामा बसेको जस्तो लाग्यो । तर, साथीभाइले भेट हुँदा तपाई यस्तो मान्छे भनेर हौसला दिन्थे । यसकारण, खुसी र गौरव लाग्छ ।” त्यो बेला यातायातका साधन, सञ्चारका केही माध्यम थिएन । यसकारण, न्युरोडको खिचापोखरीमा कोठा भाडामा बस्न थाल्नुभयो । 

घण्टाघरमा पाँच वटा घण्टी छन् । बिहान, दिउँसो र राति २४ सै घण्टा १५–१५ मिनेटको फरकमा चार वटा घण्टी हान्छ । एक घण्टा बज्दा एक चोटि र १२ बज्दा १२ नै चाेटि बजेको घण्टाले घडीको सङ्केत गर्दछ । सूचना तथा प्रविधिको विकाससँगै विभिन्न आधुनिक घडी प्रयोगमा रहेको सन्दर्भमा उहाँले घण्टाघर एक ऐतिहासिक धरोहरको रुपमा लिनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “आधुनिक घडीमा विभिन्न ऊर्जा, ब्याट्रीको आवश्यकता पर्छ । तर, यसमा दम मात्रै दिए पुग्छ । यसकारण, त्यो बेलाको इन्जिनियरिङ अध्ययनका लागि पनि यो महत्वपूर्ण छ ।” 

उहाँले घण्टाघर सम्बन्धमा सञ्चारमाध्यममा एक पटक ‘घाँडो घण्टाघर’ भन्ने आलेख आएपछि नगरपालिकाले बैठक बोलाएर यसको हेरचाह, मर्मसम्भारलगायत सबै जिम्मेवारी लिने आश्वासन दिएको स्मरण गर्नुभयो । त्यसको एक हप्तामा रंगरोगन पनि भयो । तर, त्यसयता कुनै पनि निकायले अहिलेसम्म चासो दिएको देखिँदैन । 

सापकोटा सरकारी सेवाबाट निवृत्ति हुन अब दुई वर्ष मात्रै बाँकी छ । त्यसपछि यो घडी कसरी सुचारु होला भन्ने चिन्ता उहाँलाई लागेको छ । “कतै यो घडी सङ्ग्रहालयमा जान्छ कि भन्ने चिन्ता लाग्छ । यो यसरी नै नियमित सुचारु होस् भन्ने चाहना छ”, उहाँले भन्नुभयो ।

अहिलेसम्म घण्टाघरको घण्टी बजाउने उहाँ एक्लो प्राविधिक हुनुहुन्छ । यो घडी पुरातात्विक महत्वको भएकाले यसको अतिरिक्त पार्टपुर्जा छैन । यो घडी सञ्चालन तथा मर्मतका लागि छोटो समयमा सिक्न सम्भव पनि छैन । त्यसैले उहाँले यसका लागि त्रिचन्द्रमा जनशक्तिको माग गर्दै आउनुभएको छ । त्रिचन्द्र क्याम्पससँग पनि पर्याप्त बजेट नभएको उहाँले बताउनुभयो । 

सापकोटाले घण्टाघरको घडी बजाएको करिब ३७ वर्ष पुग्यो । यो लामो समयावधिमा  छिटफुट बाहेक दुई पटक अलि ठुलो रकम मर्मतमा खर्च भएको छ । उहाँले २०७२ को भूकम्पको समयमा १५ हजार रुपियाँ र यसअघि १२ हजार रुपियाँ खर्च भएको जानकारी दिनुभयो । 

सापकोटाले घडीको ऐतिहासिक पक्षबारे सुने अनुसार तत्कालीन समयमा राणा प्रधानमन्त्री वीर शमशेरले आफ्ना चार छोराका लागि चार वटा घडी बेलायतबाट मगाएको बताउनुभयो । तर, एउटै मेसिनले चार वटा घडी चल्ने भएपछि टावर बनाएर राखिएको उहाँले सुनाउनुभयो । पछिल्लो समय, आठ, दश वर्षअघि घडीको दुई वटा फलामे दाँती बिग्रियो । त्यसयता चारै वटा घडीको सन्तुलनमा अलिकति फरक पर्ने गरेको छ । त्यो बेला घण्टाघर बुर्जा आकारको थियो । उहाँले घण्टाघरको घडी १९९० को भूकम्पछि अहिलेको स्वरुपमा रहेको बताउनुभयो ।  


भिडियो: मनोजरत्न शाही र केशब गुरुङ
Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।