अविनाश चौधरी
धनगढी, असार १९ गते । कैलालीमा ओंत संरक्षणको पहल थालिएको छ । कर्णाली नदी लगायत आसपासमा पाइने दुर्लभ खैरो ओंतको संरक्षणका लागि कार्य अगाडि बढाइएको हो । यसका लागि ओंत संरक्षण सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ । डल्फिन संरक्षण केन्द्र कैलाली, सोनाहा विकास समाज र मुक्त कमैया महिला विकास मञ्चको साझेदारीमा विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) र साना स्तनधारी प्राणी तथा अनुसन्धान फाउन्डेसनले कार्यक्रम सञ्चालन गरेको हो ।
यो कार्यक्रम तल्लो कर्णाली तटीय क्षेत्रमा सीमान्तकृत तथा नदीमा आश्रित समुदायको जीविकोपार्जन विविधीकरण तथा ओंत, माछा र तिनको वासस्थान संरक्षणमा केन्द्रित रहेको डब्लुडब्लु एफका करुण देवानले जानकारी दिनुभयो ।
खैरो ओंत जलीय पारिस्थितिक प्रणालीको सूचक प्रजाति हो । यसलाई जलीय पारिस्थितिक प्रणाली सन्तुलनका लागि खाद्य चक्रको प्रमुख प्रजाति पनि मानिन्छ । वासस्थान वरपर घनाबस्तीको विस्तार, अवैधानिक तरिकाले माछा मार्ने, अवैधानिक र अनियन्त्रित तरिकाले ढुङ्गा, बालुवा, गिट्टी उत्खनन् लगायतका कारणले खैरो ओंत जोखिममा परेको जनाइएको छ ।
नेपाल सरकारले कर्णाली नदीको पश्चिमी मुख्य क्षेत्र र भँगालोलाई इकोलोजिकल कोरिडोरको रूपमा प्राथमिकतामा राखेको छ । यसैगरी, यस्तै, पूर्वी भँगालोलाई बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा समावेश गरिएको छ । तर, यी क्षेत्रमा गैरकानुनी उत्खनन्, माछा मार्ने लगायतका कार्यले ओंतमामात्रै नभई थारु र सोनाहा समुदायको जीविकोपार्जनको परम्परागत पेसामासमेत असर पुगेको जनाइएको छ । यो कार्यक्रमले थारु र सोनाहा समुदायको जीविकोपार्जनमा सहयोग पुग्नुका साथै ओंत संरक्षणमा पनि ठुलो टेवा पुग्ने देवानले उल्लेख गर्नुभयो ।
ओंत संरक्षण सम्बन्धी कार्यक्रम लागूले स्थानीय संरक्षणकर्मीसमेत उत्साहित भएका छन् । कर्णाली नदीमामात्रै नभई भजनी नगरपालिकाको सोनाफाँटामासमेत ओंत पाइने गरेकाले कार्यक्रमले ओंत संरक्षणमा धेरै सहयोग पुग्ने संरक्षणकर्मी भोजराज ढुङ्गानाले विश्वास व्यक्त गर्नुभयो । गत वर्ष सोनाफाँटामा ओंतका बच्चा फेला परेका थिए।