लहान समाचारदाता
लहान, असार १८ गते । महिला हिंसाको प्रमुख कारकका रूपमा देखिएको दाइजो प्रथा हटाउन मिर्चैया नगरपालिकाले पहल गर्नुपर्ने महिलाले माग गरेका छन्। नगरपालिकाको सहयोगमा सामुदायिक महिला सिप तथा दलित ट्रस्ट सिराहाले आयोजना गरेको एक दिवसीय अन्तर्कियामा सहभागी महिलाले यस्तो माग गरेका हुन्।
मिर्चैया नगरपालिका–५ की उतिमदेवी मण्डलले भन्नुभयो, “मिर्चैया नगरपालिकाले महिला सशक्तीकरणका लागि प्रत्येक वर्ष चेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ। यो कार्यक्रमको प्रभावकारिताका लागि समाजमा विद्यमान रहेको दाइजो प्रथा हटाउन पहल थाल्नु पर्छ। दाइजो समस्या समस्या भनेर भएन, समाधानका लागि नगरपालिकाले पहलकदमी लिनु पर्छ।”
सहभागी अन्य महिलाले उतिमदेवीको कुरा जायज रहेको भन्दै नगरका सयौँ युवक आफ्ना छोरी र बहिनीको विवाहमा दिएको दाइजोको ऋण तिर्न विदेश गएका र त्यसपछि पनि ऋण तिर्न नसकेको समस्या पोख्नुभयो। वडा नं.–६ की कार्यपालिका सदस्य आशादेवी यादवले भन्नुभयो, “मैले तीन वटा छोरीको विवाह गर्दा दाइजो दिन लिएको ऋण अझै तिर्न सकेको छैन। आफू जनप्रतिनिधि भएर यस्तो पीडा भोगिरहेकोले नगरपालिकाले दाइजो हटाउन र महिला हिंसा न्यूनीकरण गर्न पहल थाल्नुपर्छ।”
“म स्नातक गरेको छु तर रोजगारीको अवसर छैन। मदिरा सेवन गरेर घरेलु हिंसाको सिकार महिला भइरहेका छन्। समस्या सुन्ने तर समाधान नगर्ने परिपाटीले हिंसाले झन् प्रश्रय पाइरहेको छ,” वडा नं. ६ की बबिता महतोले पीडा पोख्नुभयो। नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक जिवछीदेवी साहले कानुन बनाएर दाइजो प्रथा हटाउनेतर्फ सक्रिय हुने विश्वास दिलाउनुभयो।
नगर प्रमुख श्रवणकुमार यादवले महिला हिंसा मुक्त नगरपालिका बनाउने सन्दर्भमा दाइजो प्रथा हटाउन महिलाबाट आएको सुझावलाई ध्यानमा राखेर आवश्यक कदम चाल्ने बताउनुभयो। उहाँले भन्नुभयो, “मिर्चैया नगरपालिकाको १२ वटै वडामा सामूहिक विवाह मन्दिर बनाएर दिउँसै विवाह, विवाहकै दिन विवाह दर्ता, बिना तडकभडक विवाह र दाइजो हटाउन पहल थाल्ने छौँ।”