• १२ साउन २०८१, शनिबार

धमाधम पुनर्निर्माण हुँदै त्रिचन्द्र क्याम्पस

blog

पलसिंह खड्का/उत्सवराज उप्रेती

काठमाडौँ, असार १७ गते । भूकम्पबाट क्षतिग्रस्त भएको काठमाडौँको त्रिचन्द्र क्याम्पसको पुनर्निर्माण कार्य धमाधम भइरहेको छ । छ महिना अघिदेखि सुरु भएको पुनर्निर्माण कार्य आगामी दुई वर्षभित्र सम्पन्न हुने छ । पुनर्निर्माण कार्यमा संलग्न इन्जिनियर रोशन यादवले पुनर्निर्माण कार्य करिब २० प्रतिशत सकिएको जानकारी दिनुभयो । निर्माण कार्यका कारण त्यहाँ सञ्चालन हुँदै आएका कक्षालाई पश्चिमतर्फको सरस्वती सदन र अस्थायी कक्षाकोठामा सञ्चालन गरिँदै आएको छ ।

गत २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको त्रिचन्द्र क्याम्पसको घण्टाघरतर्फको भवनको अधिकांश भाग धराप परेको थियो । सो भवनमा जोखिमका साथ पठनपाठन हुँदै आएको थियो । सहरी तथा भवन निर्माण विभागले पुनर्निर्माण कार्य गर्दै आएको छ । यसका लागि ५१ करोड रुपियाँ विनियोजन गरिएकोमा ठेकेदार कम्पनी न्यु टेक्निकल इन्फ्रा प्रालिले करिब ३४ करोड ६७ लाख ४६ हजार रुपियाँमा निर्माण सम्पन्न गर्ने गरी सकारेको छ ।

क्याम्पसका सूचना अधिकारी बालकृष्ण पौडेलका अनुसार पुरानो भवनको केही भाग पूर्ण रूपमा नयाँ निर्माण गरिने छ भने केही भाग प्रबलीकरण (रेट्रोफिटिङ) गरिने छ । तीनतले भवनका १३ वटा कक्षाकोठा प्रयोगमा थिए । भवन निर्माण संलग्न सहायक इन्जिनियर रोशन यादवका अनुसार पुरातत्व विभागको मापदण्ड अनुसार निर्माण सामग्री प्रयोग गरिएको छ । 

क्याम्पसका सूचना अधिकारी पौडेलले भवन निर्माण सम्पन्नपछि घण्टाघरमा नयाँ घडी राखिने बताउनुभयो । हालको घडी तत्कालीन प्रधानमन्त्री वीरशमशेरको पालाको हो । सो घडीलाई हरेक तीन दिनमा दम दिनुपर्छ । हालको घडीलाई त्रिचन्द्र परिसरमा सङ्ग्रहालय निर्माण गरी सुरक्षित राखिने छ ।

सो क्याम्पस १९७५ सालमा स्थापना भएको थियो । सुरुमा त्रिभुवन–चन्द्र क्याम्पसका रूपमा स्थापना भए पनि पछि नाम परिवर्तन गरी त्रिचन्द्र क्याम्पस बनाइएको थियो । तत्कालीन राजा त्रिभुवनले चाँदीको ताल्चालाई चाँदीको साँचोले खोलेर सो भवन उद्घाटन गर्नुभएको थियो । 

तत्कालीन प्रधानमन्त्री वीरशमशेरले निर्माण गर्न लगाउनुभएको घण्टाघर र वीर पुस्तकालयसँगै त्रिचन्द्र क्याम्पस भवन निर्माण गरिएको थियो । सो भवन निर्माण हुनुअघि दरबार स्कुलमा पठनपाठन हुँदै आएको थियो । २०३० सालदेखि त्रिचन्द्र क्याम्पस त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा रहेको हो । यस क्याम्पसमा हाल करिब १० हजार विद्यार्थी अध्ययन गर्दै आएका छन् ।        (प्रशिक्षार्थी पत्रकार)