• १२ साउन २०८१, शनिबार

बागमतीमा दोस्रो पटक मन्त्रिपरिषद् विस्तार : मन्त्रीको संख्या १४ पुग्यो

blog

नवनियुक्त मन्त्रीको शपथ समारोह ।

राममणि दाहाल

हेटौँडा, साउन १२ गते।  बागमती प्रदेशको मन्त्रिपरिषद् दोस्रो पटक विस्तार गर्दै थप चार जना मन्त्री नियुक्त गरिएको छ।

मुख्यमन्त्रीमा बहादुर सिं लामा तामाङको सिफारिसमा शनिबार बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मन्त्रिपरिषद् पुनगर्ठन एवं कार्यविभाजन गर्नुभएको हो। 

प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री लामाको उपस्थितिमा हरिप्रभा खड्गी (श्रेष्ठ), सुरज चन्द्र लामिछाने, मीनकृष्ण महर्जन र विमल ठकुरीलाई मन्त्री पदको पद तथा गोपनियताको शपथ गराउनुभयो। 

खड्गीलाई सामाजिक विकास मन्त्रालय, लामिछानेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, महर्जनलाई युवा तथा खेलकुद मन्त्रालय र ठकुरीलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यस्तै मन्त्रीमण्डल विस्तारसँगै यसअघि गत बुधबार मन्त्रिपरिषद् गठन बिना विभागीय नेपाली कांग्रेसबाट मन्त्री बनेका तीन जनामध्ये कुन्दनराज काफ्लेलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र श्यामबहादुर खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिने गरी कार्यविभाजन गरिएको छ। तर यसअघि बिना विभागीय मन्त्रीमा नियुक्त मदुकुमार श्रेष्ठको दोस्रो पटक मन्त्रिपरिषद् पुनर्गठन एवं कार्यविभाजन हुँदासमेत मन्त्रालय तोकिएको छैन। 

१३ वटा मन्त्रालय रहेको बागमती प्रदेश मन्त्रिपरिषद् दोस्रो पटक विस्तार हुँदा १४ जना मन्त्री नियुक्त भएका छन्।

यस्तै यसअघि नै एमालेका प्रकाश श्रेष्ठले कृषि  तथा पशुपन्छी विकास मन्त्रालय, किरण थापा मगरले स्वास्थ्य मन्त्रालय, कृष्णप्रसाद सिलवालले वन तथा वातावरण मन्त्रालय, अमनकुमार मास्केले भौतिक पूर्वाधार विकास मन्त्रालय, शुकमाया तामाङले उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय र प्रेमभक्त महर्जनले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ।

बागमती प्रदेशको मुख्यमन्त्री बहादुर सिं लामा तामाङको उपस्थितिमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा नवनियुक्त मन्त्रीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउँदै।