• १५ मंसिर २०८१, शनिबार

मेलम्चीमा मध्यकालीन सुधारको काम गरिने

blog

काठमाडौं, असार १६ गते । मेलम्ची खानेपानी आयोजनाको दीर्घकालीन मर्मत सुरुको तयारी भइरहँदा त्यो सम्पन्न नहुँदासम्म पानी सञ्चालनका लागि मध्यकालीन सुधारको काम गरिने भएको छ ।

वि.सं. २०७८ असार १ गतेको बाढीका कारण आयोजनामा ठुलो भौतिक क्षति भएको थियो । सो क्षतिपछि आयोजना पुनः सञ्चालन गर्न र पुनर्निर्माणका लागि तत्काल गर्ने, मध्यकालीन र दीर्घकालीन गरी तीन किसिमका योजना बनाइएको थियो । तत्कालको सुधार सकिएर आयोजनाले उपत्यकामा पानी ल्याइरहेको छ । दीर्घकालीन संरचना बन्दासम्मका लागि भइरहेका संरचनाको सुधार गरी सञ्चालनको काम मध्यकालीन योजनाअन्तर्गत रहेको आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताउनुभयो ।

‘हेडवर्कक’को मध्यकालीन कार्ययोजनाअनुसार काम गरिने उहाँले बताउनुभयो । त्यसमा हेडवर्कलाई चलाउन आवश्यक काम गेटको मर्मतको काम, बाढी आएपछि च्यानलाइजेसन गरिने आयोजनाको योजना छ ।

आयोजनामा आगामी वर्ष मर्मत सञ्चालनको काम गरिने आयोजनाले जनाएको छ । हेडवर्ककको बायाँतर्फ रहेको पहिरोको रोकथामका लागि काम गरिने उहाँले बताउनुभयो । सानासाना काम मात्रै गर्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ हेडवर्क तत्काल बनी सक्दैन, त्यही संरचनाको मर्मत गरेर पानी चलाउन लागिनेछ ।”

आयोजनालाई स्थायीरुपमा सम्पन्न गर्न दीर्घकालीन कार्ययोजनाअनुसार गर्नुपर्ने काम पनि आगामी आवमा अघि बढ्ने प्रवक्ता पन्तले बताउनुभयो । डिजाइन स्वीकृत भएपछि खरिद प्रक्रियामा गएपछि नै काम सुरु गरिने उहाँले बताउनुभयो । हेडवर्क कहाँ बनाउने भन्ने यही वर्ष तय गरिने आयोजनाले जनाएको छ ।

हेडवर्क बनिसक्न समय लाग्ने भएकाले निर्माण भइरहँदा पनि अहिले भइरहेको संरचना नै चलाउनुपर्ने प्रवक्ता पन्तले बताउनुभयो । नयाँ ‘हेडवर्क’ निर्माणमा एसियाली विकाश बैङ्कले पनि चासो देखाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्षमा निर्णय भएमा अर्को वर्ष निर्माण सुरु हुनसक्छ ।”

आयोजनाले सो बैङ्कसँगको ऋण सहयोगमा आयोजना निर्माण गरेको थियो । यस अघिको ऋण सकिएकाले नयाँ सम्झौता गरेर काम गर्नुपर्ने उहाँले बताउनुभयो । नयाँ ‘हेडवर्क’ निर्माणका लागि विज्ञहरूले दुई/तीन ठाउँ हेरिसकेको उहाँले बताउनुभयो । कुन ठाउँ उपयुक्त हुन्छ भनी र कस्तो बनाउने भनी निर्णय हुन बाँकी रहेको उहाँले बताउनुभयो । अन्तिम भएपछि प्रतिवेदन दिने र त्यहीअनुसार रकमको व्यवस्था गरिनेछ । उहाँले भन्नुभयो, “त्यसपछि नयाँ ठेक्का प्रक्रियामा जान सकिनेछ ।”

दीर्घकालीन योजनाअनुसार नयाँ हेडवर्क सम्पन्न गरेर स्थायीरुपमा चल्न समय लाग्ने भएकाले मध्यकालीन योजनाअनुसार भइरहेका संरचना सुधारका काम गर्न लागिएको हो । यस वर्ष निर्माणको काम सुरु गर्नसके अर्को दुई वर्षभित्रमा सम्पन्न गर्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यतिबेलासम्म मध्यकालीन कार्ययोजनाअनुसार यही हेडवर्कबाट पानी चलाउनुपर्छ ।”

आगामी वर्ष आयोजनाका लागि सरकारले बजेट कम छुट्याएकाले धेरै काम नहुने उहाँले बताउनुभयो । आगामी वर्षको बजेटमा आयोजनाको अस्थायी हेडवर्कको स्तरोन्नति गरी बाह्रै महिना खानेपानी आपूर्ति व्यवस्था मिलाइने उल्लेख छ । मेलम्ची जलाधारको भौगोलिक अध्ययन प्रतिवेदनको सुझावअनुसार आयोजनाको सञ्चालन गरिनेछ । आयोजनाको दोस्रो चरणअन्तर्गत याङ्ग्री र लार्के जोड्ने गरी संरचना निर्माण गर्ने बजेटमा उल्लेख छ । रासस