• २० असोज २०८१, आइतबार

धनकुटामा धान रोपाइँको रमाइलाे

blog

धनकुटा ६ पात्ले खोलामा भएको रोपाइँ। तस्बिरः कोकिला भण्डारी

कोकिला भण्डारी

धनकुटा असार १५ गते। ‘जलवायु अनुकूलित कृषि मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ धनकुटाका विभिन्न स्थानमा राष्ट्रिय धान दिवस मनाउँदै रोपाइँ भइरहेका छन्। 

२० औं राष्ट्रिय धान दिवसको अवसरमा धनकुटा ६ पात्ले खोला क्षेत्रको खेतमा, पात्लेपाङ्गसिङ्गमा सामूहिक धान रोपाइँ गरिएको छ। लोप हुँदै गएको हलोजुवा, कोदाली र गोरु नारेर हिलोमा हिलाम्मे भएर बाउसे गर्दै ‘होहोरे हो हो’ भन्दै लोकलयमा गीत संगीतका साथमा धान रोपाइँ भएको हो। 

बाटो छेउमै खेतमा धान रोपिएको हुँदा सडकमा ओहोरदोहोर गरिरहेका बसका यात्रु समेतले गाडी नै रोकेरसमेत धान रोपाइँको रमाइलो दृष्य अवलोन गरिरहेका थिए। ब्याडमा बिउँ काड्नेको बेग्लै रमाइलो देखिन्थ्यो। 

अखिल नेपाल किसान महासंघ, कृषि पर्यटन प्रवद्र्धनमा महिला अभियान धनकुटाको  आयोजनामा रोपाइँ तथा शुभकामना आदान प्रदान कार्यक्रमका साथमा धान रोपाइँ कार्यक्रम सम्पन्न गरिएको हो।

पात्लेस्थित रोपाइँमा पूर्व मन्त्री राजेन्द्रकुमार राई, उपमेयर भिमादेवी अधिकारी, राजनीतिक दलका स्थानीय नेता, समाजसेवी व्यक्ति, कृषक लगायतको सहभागिता थियो। रोपाइँमा नाचगान गर्दै रमाइलो गरिएको थियो।

दिवसका अवसरमा पूर्व मन्त्री राईले कृषिलाई आधुनिकीकरण र यान्त्रिकरणतर्फ लैजानुपर्नेमा जोड दिनुभयो। किसानले सहज रुपमा मल, सिंचाई र बिउँ पाउने अवस्था सिर्जना गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले कृषिलाई यान्त्रिकरण गरेर उत्पादकत्व वृद्धि गर्नुपर्ने बताउनुभयो।