• १५ असार २०८१, शनिबार

मल वितरणमा बदमासी भयो, कारबाही गर्छौँ : मन्त्री भुसाल

blog

धान रोपाईंमा सहभागी हुनुहुँदै कृषि तथा पशुपंक्षी विकास मन्त्री डा.वेदुराम भुसाल । तस्बिर : केशब गुरुङ

काठमाडौं, असार १५ गते । कृषि तथा पशुपन्क्षी विकास मन्त्री डा. वेदुराम भुसाल धान रोपाइँमा सहभागी हुनुभएको छ । शुक्रबार राष्ट्रिय धान दिवसको अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् नार्कस्थित राष्ट्रिय बाली विकास केन्द्रको परिसर खुमलटारमा आयोजित रोपाइँ महोत्सवमा सहभागी भएर मन्त्री भुसालले धान रोप्नुभएको हो ।

उहाँले रोपाइँ महोत्सवमा मन्त्री भुसालले हातले र राइस ट्रान्सप्लानरले धान रोप्नुभयो । उहाँले रोपाइँमा सहभागी हुनुभन्दा पहिला भएको कार्यक्रममा बोल्दै मन्त्री भुसालले केही वर्ष पहिला खेती भएको १० लाख ३० हजार हेक्टर जमिन अहिले बाँझो रहेको बताउनुभयो । उहाँले जमिन बाँझो हुनुमा मानिसहरूको जीवन शैलीमा आएको परिवर्तन, पहाडबाट तराई वा सहरतिर बसाई सर्ने प्रवृत्तिको विकास, युवाहरू विदेशी जानु र सरकारले पर्याप्त सेवा सुविधाहरू पुर्‍याउन नसक्नु प्रमुख कारण भएको बताउनुभयो ।

‘‘१० लाख ३० हजार हेक्टर जमिन केही वर्ष अघि खेती भएको अहिले बाँझो छ । जमिन बाँझो पर्नुका विभिन्न कारणहरू छन् । पहिलो भनेको मानिसहरूको जीवन शैलीमा आएको परिवर्तन हो । मानिसहरूको जीवन शैली गाउँले परिबेसबाट सहरिया परिवेशमा परिवर्तन हुने अवस्था आएको छ । पहाडबाट तराई वा सहरतिर बसाई सर्ने प्रवृत्ति विकास हुनु जमिन बाँझो रहनुको मुख्य कारण हो । युवाहरू वैदेशिक रोजगारीमा जानु र सरकारले पर्याप्त सेवा सुविधाहरू पु¥याउन नसक्नु तथा जङ्गली जनावरहरूको कारण हो ।,’’ मन्त्री भुसालले भन्नुभयो, ‘‘अब फेरी हामीले बाँझो जमिनमा खेतीपाती गर्न थाल्यौँ भने उत्पादन वृद्धि गर्छौँ । उत्पादन वृद्धि भएमा फेरी अन्न निर्यातको अवस्थामा पुग्नसक्छौं । यसतर्फ ध्यान दिएर काम गर्नु पर्ने अवस्था छ । यो वर्ष कृषि मन्त्रालयले बाँझो जमिन उपयोगका निम्ति काम गरौँ भनेको थोरै बजेट विनियोजन गरेको छ । तर बजेट अपुग छ । बाँझो जमिन उपयोग गर्न कृषि मन्त्रालयले बजेट नगन्नय हुनुको प्रमुख बाधक योजना आयोग हो ।’’

मन्त्री भुसालले नेपालको १० लाख ३० हजार हेक्टर बाँझो जमिनमा खेतीपाती गर्न थालेमा उत्पादन वृद्धि गरी खाद्यान्न निर्यात गर्ने अवस्थामा पुग्नसक्ने दाबी गर्नुभयो । उहाँले यो वर्ष कृषि मन्त्रालयले बाँझो जमिन उपयोगका निम्ति नगन्य भएपनि बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले बाँझो जमिन उपयोग गर्न कृषि मन्त्रालयले बजेट पाउन नसक्नुको प्रमुख बाधक योजना आयोग भएको आरोप लगाउनुभयो ।

मन्त्री भुसालले योजना आयोगले पहिला नै सिलिङ तोकेर पठाएकाले कृषि मन्त्रालयको सिलिङमा बजेट कटौती भएको बताउनुभयो । उहाँले कार्यक्रममा सहभागी योजना आयोगका सदस्यलाई योजना आयोगमा बसेर बजेट नदिने तर कृषि कार्यक्रममा आएर ठुला कुरा नगर्न चेतावनी दिनुभयो । उहाँले अहिले मलको अभाव नभएको दाबी गर्नुभयो ।

‘‘योजना आयोगले पहिला नै सिलिङ तोकेर पठाउँछ । कृषि मन्त्रालयको सिलिङमा पनि कटौती गर्छ । योजना आयोगले कृषि क्षेत्रको कार्यक्रममा आएर गुनासो गरेर हुँदैन । काम गर्ने ठाउँमा गर्नुपर्छ । योजना आयोगमा बसेर बजेट नदिने अनि ठुला कुरा गरेर हुन्छ । प्रधानमन्त्री र अर्थमन्त्रीसँग आग्रह गरेपछि कृषि मन्त्रालयको बजेट नघटाउने अवस्था पुगियो । सरकारले यो वर्ष कृषि क्षेत्रमा जे जस्ता कार्यक्रमहरू ल्याएको छ ती कार्यक्रम सफल बनाउनको लागि अभियान सञ्चालन गरौँ ।,’’ मन्त्री भुसालले भन्नुभयो, ‘‘यो वर्ष ढिलै भए पनि मनसुन सुरु भएको छ । दाबीका साथ भन्छु । अहिले मलको अभाव छैन । राजनीतिक प्रतिशोधका आधारमा विगतका फोटा खिचेर मलको अभाव भनेर प्रचार गरियो । अहिले पनि सरकारसँग ७८ हजार मेट्रिक टन मल मौज्दात छ । मल वितरणमा बदमासी भएको छ । मल वितरणमा बदमासी भएको ठाउँमा कारबाही गर्छु । दाङका प्रमुखले मलाई भोट हाल्ने भन्दा बाहेकलाई मल नदिने भन्दै हिँडेका छन् । किसान विरोधी अभियान चलाइएको छ ।’’

मन्त्री भुसालले मलको अभाव भयो भनेर राजनीतिक प्रतिशोधका आधारमा विगतका फोटा खिचेर प्रचार गरियो बताउनुभयो । उहाँले अहिले पनि सरकारसँग ७८ हजार मेट्रिक टन मल मौज्दात रहेको जानकारी दिनुभयो । मन्त्री भुसालले मलको अभाव नभएर केही ठाउँमा मल वितरणमा बदमासी भएको भन्दै छानबिन गरी कारबाही गर्ने चेतावनी दिनुभयो ।