वीरगन्ज, असार १२ गते । काँग्रेस नेता नैनसिंह महरले देशको अर्थतन्त्रमा सर्वाधिक योगदान दिने र सबभन्दा बढी जनसङ्ख्या भएको मधेस प्रदेशका लागि सङ्घीय बजेट विनियोजनमा कमी कमजोरी भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
उहाँले ‘वीरगन्ज नाकाले देशको ढुकुटी भर्छ, सबैभन्दा बढी श्रमिक यही प्रदेशले पठाउँछ र देशको अर्थतन्त्र रेमिट्यान्सले धानेको छ,’ उहाँले तथ्याङ्क प्रस्तुत गर्दै भन्नुभयो, ‘तर, जब बजेट विनियोजनको बेला आउँछ, मधेसले आफ्नो जनसङ्ख्या र योगदानको अनुपातमा सधैँ विभेद र उपेक्षा मात्रै भोग्यो ।’
नेता महरले सत्ताको खेलले नीतिगत शून्यता जन्माएको र प्रमुख दलहरूको आन्तरिक किचलोले व्यवस्थाप्रति नै नागरिकको विश्वास कमजोर बन्दै गएको ,केही शक्तिहरू धमिलो पानीमा माछा मार्ने षडयन्त्र गर्दै व्यवस्था परिवर्तनको दिवा सपना कोरिरहेको बताएका छन् ।
नेता महरले सरकार र सत्ता गठबन्धनको औचित्यमाथि प्रश्न उठाउँदै विधायीकी प्रक्रिया ठप्प पारेर देशलाई सङ्कटतर्फ धकेलेको बताउनुभयो । ‘सरकार कसरी चलिरहेको छ भन्ने कुरा संसदीय समितिले महिनौँ लगाएर टुङ्ग्याएका विधेयकसमेत सदनमा अलपत्र पर्नुले प्रस्ट पार्छ,’ उहाँले भने, ‘विधायीकी प्रक्रिया ठप्प पारेर सत्ता स्वार्थको खेलमा रमाएको यो गठबन्धनले देशलाई निकास दिन सक्नु पर्दछ ।’
एक फरक प्रसङ्गमा महरले भन्नुभयाे, नीति महाधिवेशन गर्न बसेको महासमितिको प्रतिवेदनसमेत सार्वजनिक गरिएको छैन । ।’ पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरू निष्क्रिय हुँदा पार्टीमा नयाँ ऊर्जाको सञ्चार हुन नसकेको र विधानको कार्यान्वयनमा नेतृत्व चुकेको बताउनुभयो । ‘शासन राम्रो हुन पहिला दल राम्रो हुनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ अब १६ गते बस्ने काँग्रेस केन्द्रीय समितिको बैठक सबै विषयको समीक्षा हुन्छ उहाँले थप्नुभयो ।
उहाँले सरकारको उदासीनताले मधेसका आधारभूत समस्या झनै विकराल बनेको बताउनुभयो । ‘चुरेको अनियन्त्रित दोहनले जलवायु परिवर्तनको प्रत्यक्ष कोपभाजन मधेसले भोगिरहेको छ । पहिले २०० फिटमा आउने पानी आज ५०० फिट खन्दा पनि मुस्किलले आउँछ,’ उनले पर्यावरणीय सङ्कटतर्फ सङ्केत गर्दै भन्नुभयो, ‘तर, सरकारको प्राथमिकतामा यी विषय कहिल्यै परेनन् ।’