• १२ मंसिर २०८१, बुधबार

युगान्डामा त्रास

blog

अफ्रिकी मुलुक युगान्डामा विद्यार्थीको बीभत्स हत्यासँगै आमनागरिकमा त्रास बढेको छ। आतङ्कवादी समूह इस्लामिक स्टेटसँग सम्बन्ध रहेका विद्रोहीले एक विद्यालयमा आक्रमण गरी ४० जना विद्यार्थीको बीभत्स हत्या गर्नुका साथै केही कर्मचारी र छात्रालाई अपहरण गरी लगेका छन्। पश्चिम युगान्डाको पोन्ड्वे सहरमा रहेको एक माध्यमिक विद्यालयमा भएको उक्त आक्रमणमा परेका थप आठ जना विद्यार्थीको अवस्था गम्भीर छ। मारिनेमा विद्यालयको छात्रावासमा रहेका छात्र धेरै छन्। 

डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डिआरसी) मा रहेको युगान्डाको सशस्त्र विद्रोही समूह एलाइड डेमोक्रेटिक फोर्सेस (एडिएफ) ले सो आक्रमण गरेको । ६० जनाभन्दा धेरै विद्यार्थी रहेको उक्त विद्यालयमा अधिकांश आवासीय रूपमा पढ्ने गरेका थिए। एडिएफका विद्रोहीले केही विद्यार्थीमाथि बम पड्काएर र जलाएर हत्या गरेका थिए। उनीहरूले त्यहाँको खाद्य भण्डारमा आगजनी गर्नुका साथै लुटपाटसमेत गरेको प्रहरीले जनाएको छ। जलाएर हत्या गरिएका केही विद्यार्थीको पहिचानका लागि डिएनए परीक्षण गर्नुपर्ने भएको छ। 

आव्रmमणकारीले विद्यार्थीका बिछ्यौनासमेत जलाउनुका साथै त्यस क्षेत्रमा बम विस्फोट गराएर आतङ्क फैलाएका थिए। घटनापछि सरकारले सेना परिचालन गरी आक्रमणकारीको खोजी गरिरहेको छ। खोजी कार्यमा विमानसमेत परिचालन गरिएको छ। उक्त सशस्त्र समूहलाई परास्त गर्न १८ महिनाअघि पनि सैन्य कारबाही गरिएको थियो, त्यो कारबाही सफल भएन। अतिवादी मुस्लिम समूहका रूपमा एडिएफले सन् १९९० को दशकमा राष्ट्रपति युवेरी मुसेभिनीको सरकारविरुद्ध विद्रोह सुरु गरेको हो। यो सशस्त्र समूहले छिमेकी मुलुकमा बसेर देशभित्र बेला बखत आतङ्क मच्चाउँदै आएको छ। 

पछिल्ला दुई दशकदेखि एडिएफ डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोको पूर्वी भागमा रहँदै आएको छ। युगान्डा र डिआर कङ्गोले पूर्वी कङ्गोमा एडिएफको आक्रमण रोक्न संयुक्त कारबाही चलाए पनि अपेक्षित सफलता मिलेको छैन। यो सशस्त्र समूह बलियो बन्दै जाँदा युगान्डाको शान्ति बिथोलिएको छ। 

भूपरिवेष्टित मुलुक युगान्डाको विगत कहालीलाग्दो छ। सन् १९६२ मा बेलायतबाट स्वतन्त्र भई सन् १९६३ मा गणतन्त्र मुलुक घोषणा गरिए पनि मुलुकले सही बाटो समाउन सकेन। सन् १९७० को दशकमा इदी अमिन जस्ता सैनिक तानासाहले नरसंहार मच्चाएर देशकै बदनाम गरे। उनले सन् १९७१ देखि १९७९ सम्म सत्ता कब्जा गरे। सन् १९७९ को अप्रिल ११ मा क्रूर शासक अमिन सत्ताच्युत भए। तान्जानिया र युगान्डा नेसनल लिबरेसन फ्रन्टको फौज युगान्डाको राजधानी कम्पाला पुगेसँगै अमिन देश छाडेर भागेका थिए। 

सन् १९६६ मा युगान्डाको सेना तथा हवाई फौजको प्रमुख बनेका अमिनले १९७१ को जनबरी २५ मा सैनिक ‘कु’ मार्फत शासनसत्ता हातमा लिएका थिए। युगान्डामा करिब आठ वर्ष शासन गरेका अमिनले विभिन्न जातीय समूहका मानिसमाथि अत्याचार गरेका थिए। अमिनले उनको शासनकालमा बीभत्स ढङ्गले छ लाख मानिसको हत्या गरे। 

सन् १९७९ मा सत्ताच्युत भएसँगै अमिन लिबिया हुँदै साउदी अरब गएर बसे। उनका छ जना श्रीमती र ४३ जना छोराछोरी थिए। उनको २००३ को अगस्ट १६ मा साउदी अरबको जेद्दाहमा मृत्यु भयो। नरभक्षी अमिन मानव सभ्यताकै कलङ्क थिए। अफ्रिकाको स्वतन्त्रतापछिका तानासाहमध्ये उनी सबैभन्दा कुख्यात बने। यी कुख्यात अमिनको जन्म सन् १९२३ मा कोबोकोनजिकै भएको थियो। यो क्षेत्र अहिले युगान्डाको पश्चिम नाइल प्रान्तमा पर्छ। सानै उमेरमा बुवाले छाडेपछि उनी आमासँग हुर्किएका थिए। अमिन त्यस क्षेत्रमा बसोबास रहेको सानो इस्लामी जनजाति काकवा समूहका सदस्य थिए।

सन् १९६४ मा अमिन त्यहाँको सैनिक सेवामा भान्छेका रूपमा प्रवेश गरे। त्यसपछि अधिकृत, मेजर जनरल, कमान्डर हुँदै तत्कालीन युगान्डाका शासक मिल्टन ओबोटेलाई पदच्युत गराएर उनको स्थान लिन सफल भए। सत्ता कब्जा गरी शासक बनेपछि उनले नरसंहार मच्चाए। उनी आलोचना सुन्नै चाहँदैनथे। जतिले विरोध गर्ने हिम्मत गर्थे, ती सबै यिनको सिकार हुन्थे। आफ्नो क्रूर शासनमा बाधक बनेका न्यायाधीश, सरकारी अधिकारीदेखि पूर्वप्रधानमन्त्रीसम्मको उनले हत्या गरे।

छ फिट चार इन्च अग्ला अमिन अश्वेत थिए। उनी खेलाडी पनि थिए। सन् १९५१ देखि १९६० सम्म युगान्डाको हेभी वेट बक्सिङ च्याम्पियन र पौडी खेलाडीको छवि उनले बनाएका थिए। अमिनको कार्यकालमा युगान्डालाई धर्तीकै नर्क मानिन्थ्यो। अमिन कतिसम्म क्रूर र अमानवीय थिए भने लडाइँका क्रममा घाइते साथीलाई मारेर खायो भने भोकमरीबाट बचिन्छ सम्म भन्न भ्याउँथे।

सन् १९७२ मा अमिनले युगान्डाबाट निर्वासित व्यक्तिको घुसपैठको जवाफी कारबाहीका रूपमा ओबोटे समर्थक सेनाको हत्या गरे। उनीहरू मुख्य रूपमा अछोली तथा लाङ्गो जातीय समूहका सदस्य थिए। सन् १९७१ को जुलाईमा जिन्जा र म्बारारा बैरकोमा लाङ्गो र अछोली सैनिकको हत्या गरेका थिए। सन् १९७२ को सुरुमा पाँच हजार अछोली लाङ्गो सैनिक तथा यसभन्दा दुई गुणा बढी नागरिक बेपत्ता भएका थिए। बेपत्ता हुनेमा जातीय समूह, धार्मिक नेता, पत्रकार, कलाकार, वरिष्ठ कर्मचारी, न्यायाधीश, वकिल, छात्र एवं बुद्धिजीवी र अन्य मुलुकका नागरिक थिए। बेपत्ता बनाइएका अधिकांशको हत्या गरिएको थियो। 

जातीय, राजनीतिक र वित्तीय कारकबाट प्रेरित यी हत्या अमिनले आफ्नो शासनको आठ वर्षसम्म जारी राखे। मारिएका व्यक्तिको सङ्ख्या यकिन छैन। एम्नेस्टी इन्टरनेसनलको सहयोगबाट निर्वासित सङ्गठनद्वारा सङ्कलित अनुमान अनुसार छ लाख मानिस मारिएका थिए। 

अमिनका सहयोगी थिए, लिबियाका शासक कर्णेल गद्दाफी। उनले युगान्डाबाट एसियालीलाई निष्कासन गर्न अमिनसँग आग्रह गरे। सन् १९७२ को अगस्टमा अमिनले आर्थिक युद्धको घोषणा जस्ता नीति बनाएर एसियाली र युरोपेलीको सम्पत्ति जफत गर्ने अभियान छेडे। त्यहाँ सन् १९७२ अगस्ट ७ मा अमिनले ६० हजार एसियालीलाई देश निष्कासनका लागि आदेश जारी गरे। उनले देश छोड्न ९० दिनको समय दिएका थिए। पछि यो आदेश संशोधन गरेर डाक्टर, वकिल र शिक्षकलगायतका व्यक्तिबाहेक अन्य ८० हजारलाई देश छोड्न भने। यीमध्ये बेलायती राहदानी भएका धेरै थिए। उनीहरू बेलायत गए। बाँकी व्यक्ति अस्ट्रेलिया, क्यानडा, भारत, केन्या, पाकिस्तान, स्विडेन, तान्जानिया र अमेरिका पुगे। अमिनले एसियाली मूलका मानिसको सम्पत्ति, व्यापार जफत गरेर ती सबै सम्पत्ति आफ्ना समर्थकलाई दिएका थिए।

मानव सभ्यतामा कलङ्कको टीका लगाएका अमिनको क्रूरता आठ वर्षभन्दा लामो टिक्न सकेन। सन् १९७९ मा युगान्डाका राष्ट्रवादीले उनलाई सत्ताच्युत गरे। आफ्नै कुकर्मका कारण देश छाडेर उनी कहिले लिबिया त कहिले साउदी अरबको शरणमा पुगे। अमिनको पतनसँगै मुलुक नरभक्षी शासकबाट मुक्त भए पनि शान्त हुन पाएन, पुनः गृहयुद्धमा होमियो। पाँचदेखि छ वर्षसम्म चलेको गृहयुद्धमा पाँच लाखभन्दा बढी मानिस मारिए। विद्रोही समूह नेसनल रेसिस्टेन्स मुभमेन्टका नेता युवेरी मुसेभिनीले सन् १९८६ मा सत्ता हातमा लिएसँगै मुलुक नयाँ ढङ्गले अगाडि बढ्ने प्रयासमा जुटेको छ। मुसेभिनी पछिल्लो पटक सन् २०२१ मा पुनः राष्ट्रपति निर्वाचित भए।   दुई लाख ४१ हजार ३८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको चार करोड ६० लाख जनसङ्ख्या भएको यो मुलुकमा अङ्ग्रेजी र स्वाहिली भाषा बोल्ने गरिन्छ। मुलुक गरिब छ। 

लेखक गोरखापत्रका नायब कार्यकारी सम्पादक हुनुहुन्छ।

  

Author

रामप्रसाद आचार्य