गोरखापत्र अनलाइन
काठमाडौं, असार १४ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘जनताको बहुदलीय जनवाद’ (जबज) नेपालको मौलिक राजनीतिक सिद्धान्त भएको बताउनुभएको छ । जननेता मदन भण्डारीको ७२ औँ जन्मजयन्तीको अवसरमा राजधानीमा आयोजित एक समारोहमा उहाँले सो कुरा बताउनुभएको हो ।
अध्यक्ष ओलीले भन्नुभयो, “यो प्राकृतिक, वास्तविक, वैज्ञानिक नियम हो । यसका धेरै आयाम छ । तर राजनीतिक पक्षका रूपमा मात्र हेर्दा गल्ती हुन्छ । यो राजनीतिक आयाम मात्रै होइन, सामाजिक, सांस्कृतिक, आर्थिक, वातावरणको आयाम, राजनीतिक प्रणाली यसको प्रक्रियागत आयाम हो । जिम्मेवार लोकतन्त्र हो ।”
उहाँले कुनै पनि समाज, देशको परिवर्तन अर्काको नक्कल गरेर नहुने भन्नुहुँदै उहाँले विकासको मौलिक यथार्थलाई स्वीकार गर्न नसक्दा आन्दोलन विफल पनि हुनसक्ने भनाइ राख्नुभयो । मुढे बलले नभई समय, परिस्थितिअनुसार आन्दोलनलाई अघि बढाउनुपर्ने भन्नुहुँदै उहाँले कहिले नेकपा माले त कहिले नेकपा एमाले हुँदै पछिल्लो समय नेकपा बनाइएको तर यो भित्तामा टाउको ठोकिएजस्तो भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो आन्दोलन जोगियो र मजबुत भएर अगाडि बढ्यो ।
अध्यक्ष ओलीले आज पनि मानिस भोकभोकै मर्नुपर्ने अवस्था विश्वको सबैभन्दा कुरूप चित्र भएको औँल्याउनुभयो । “शोषणकारी व्यवस्थाको कारण एउटा दाजुभाइ, दिदीबहिनी भोकभोकै मर्नुपरेको छ शोषणकारी व्यवस्थाको कारणले यस्तो भएको हो” उहाँले थप्नुभयो, “म सरकारको नेतृत्व गरेकाबेला कोही भोकै पर्दैन, भोकले कोही मर्दैन अभियान सञ्चालन गरेको थिएँ, अहिलेको सरकारले त्यो अभियान चलाएको छैन ।”
यसैबीच राससका अनुसार मुलुकमा भोकमरी र गरिबी कायमै छ भने विकास र मानवअधिकारका गफ दिनुको कुनै सार्थकता नहुने बताउनुभयो । कार्यक्रममा विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेता भण्डारीले नेपाली समाजको विशेषतामा आधारित जबजको सिद्धान्त ल्याएको बताउनुभयो ।
“नेपालको संविधानको प्रस्तावनामा हामीले जबजकै सचेत प्रयासमा समाजवादोन्मुख शब्दावली राखेका हौँ । हामी जन्मसिद्ध श्रेष्ठतामा आधारित राजतन्त्र वा सीमित व्यक्ति धनी हुने पुँजीवादी व्यवस्थाका पक्षमा छैनौँ । समानता र सामाजिक न्यायसहितको पूर्ण लोकतन्त्रका पक्षमा छौँ” अध्यक्ष ओलीले भन्नुभयो, “कहिलेकाहीँ मोर्चामा हार खान सकिन्छ तर आन्दोलनले हार्दैन र हामी अविचलितरुपमा समाजको रुपान्तणका लागि लागिरहनुपर्छ । जबजको मार्गदर्शन पनि यही हो ।”
नेपाल ज्ञानभूमि र तपोभूमि भएको उल्लेख गर्दै अध्यक्ष ओलीले पुर्खाहरूको त्यो ज्ञान र योगदानको जगमा यस उर्वर र जीवनमय भूमि नेपाललाई समृद्ध बनाउन राजनीतिक दल र जनता लाग्नुपर्नेमा जोड दिनुभयो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमेत सहभागी कार्यक्रममा फाउण्डेशनद्वारा स्थापित विभिन्न पुरस्कार प्रदान गरिनुका साथै विशेष जर्नलको लोकार्पण गरिएको थियो ।