• ३१ वैशाख २०८२, बुधबार

यौन हिंसाका घटना वृद्धि

blog

बुटवल समाचारदाता

बुटवल, असार १४ गते । रुपन्देहीमा यौनजन्य हिंसाका घटनामा वृद्धि भएको एक तथ्याङ्कले देखाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले विगत सात महिनाको अवधीमा गरेको अध्ययनले सो तथ्याङ्क देखाएका हो । 

सो अवधिमा भएका विभिन्न अपराधका घटना मध्ये सबैभन्दा बढी यौनजन्य हिंसाका घटना भएको उल्लेख गरिएको छ । इन्सेकको अभिलेख अनुसार, बालबालिकासम्बन्धी बलात्कारका घटना २६, यौन दुव्र्यवहार छ, जबरजस्ती करणी आठ र बलात्कारको प्रयास गरी सात वटा घटना भएको उल्लेख छ । त्यसै गरी मानव बेचबिखन तथा ओसारपसार पाँच, पारिवारिक हत्या चार, बालिका हत्या एक, अपहरण तथा शरीर बन्धक एक, बहुविवाह आठ, जबरजस्ती गर्भपतन एक र घरेलु हिंसा २६४ वटा रहेको जनाइएको छ ।

नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२४ प्रकाशन पूर्व इन्सेकले बुधबार बुटवलमा आयोजना गरेको अर्धवार्षिक समीक्षा कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो । इन्सेक जिल्ला प्रतिनिधि रीमा बिसीले जिल्लामा यौनजन्य घटनामा कमी नआएको बताउँदै महिलासँग सम्बन्धित यौन तथा घरेलु हिंसाका घटना बढी देखिएको बताउनुभयो । राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका प्रमुख सोमनाथ सुवेदीले इन्सेकले सार्वजनिक गरेको तथ्याङ्कले मानव अधिकारको अवस्था चिन्ताजनक देखिएको बताउनुभयो । 

इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख मोहन जोशीले मानव अधिकारको अवस्थामा अझै पनि सुधार नभएको बताउँदै राज्यका सबै निकाय र सरोकारवालालाई जवाफदेही तथा उत्तरदायी बनाउनु पर्ने आवश्यकतामा जोड दिनुभयो । 

त्यस्तै इलाका प्रहरी कार्यालयका बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले नेपाल प्रहरीले मानव अधिकारको क्षेत्रमा संवेदनशील भएर काम गरिरहेको चर्चा गर्दै समाजमा हुने यौनजन्य क्रियाकलाप नियन्त्रण गर्न प्रहरीले मात्र नभई सबैको सहयोगको खाँचो औँल्याउनुभयो । मानव अधिकार तथा शान्ति समाजका सल्लाहकार गोविन्द खनालले सरकारले निर्माण गर्ने भौतिक संरचनाहरू अहिले पनि मानव अधिकारमैत्री, अपाङ्गतामैत्री नभएको गुनासो गर्दै स्थानीय, प्रदेश र सङ्घीय गरी तीनै तहको सरकार जवाफदेही बन्नुपर्ने बताउनुभयो । 

नेकपा (माओवादी केन्द्र) रुपन्देहीका अध्यक्ष निर्मल जिसीले आफू र आफ्नो पार्टी मानव अधिकारको विषयमा संवेदनशील रहेको र पार्टीका नेता तथा कार्यकर्ता कसैले मानव अधिकारको उल्लङ्घन गरेमा कारबाही गरिने प्रतिवद्ध व्यक्त गर्नुभयो ।