• १३ मंसिर २०८१, बिहिबार

प्रधानमन्त्री कप ब्याडमिन्टन : पविन र विजितको विजयी सुरुवात

blog

प्रधानमन्त्री कप खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पहिलो दिन प्रतिस्पर्धा गर्दै आर्मीका पविन लिनथेप ।

काठमाडौं, असार १३ गते । त्रिभुवन आर्मी क्लबका पविन लिनथेप र एपिएफ क्लबका विजित थापामगरले तेस्रो प्रधानमन्त्री कप खुलाराष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ विजयी सुरुवात गर्नुभएको छ ।

ललितपुरस्थित नखिपोट ब्याडमिन्टन सर्कलमा बुधबारदेखि सुरु भएको प्रतियोगितामा पविनले बिवाईसीका अरुण अधिकारीलाई २१–१५, २१–१७ ले हराउनुभयो । अर्को खेलमा बिजितले रुपन्देहीका प्यारजंग थापालाई २१–५, २१–९ ले पराजित गर्नुभयो । 

अन्य खेलमा एपिएफका सुजन थापाले काठमाडौं ब्याडमिन्टन एकेडेमीका सुजल श्रेष्ठलाई २१–६, २१–४, आर्मीका हिमाल चन्दले काभ्रेकका अंकित भोछेभ्वयलाई २१–९, २१–११, एपिएफका शिषिर रानाले देवीनगर ब्याडमिन्टनका रिसव राईलाई १६–२१, २१–१७, २१–१३, आर्मीका अभय महराले रिभाईभका किरन न्यौपानेलाई २१–१३, २१–१२, पुलिसका अविक श्रेष्ठले पर्फेक्ट फिटनेश क्लबका अनिल मल्ललाई २२–२०, २१–९ ले र एपिएफका भोज बहादुर गुरुङ्गले आशमान लोपचनलाई २१–९, २१–४ ले हराउनुभयो । 

यस्तै एपिएफका रोशन साउदले आर्मीका कविर केसीलाई २१–१९, २१–१५ले, मंडला ब्याडमिन्टन क्लबका अमन तामाङ्गले रिभाईभका सलुन सिंह ठकुरीलाई १९–२१, २१–१६, २१–१३, पुलिसका पूर्ण बहादुर थापाले काठमाडौं ब्याडमिन्टन एकेडेमीका बबिश थापालाई १६–२१, २१–१६, २१–१६ र एपिएफका सुमन लिम्बुले आईबिएससीका सुवास उलकलाई २१–१०, २१–११ ले हराउँदै दोस्रो चरणमा प्रवेश गर्नुभयो । पाल्पाका दिपम बज्राचार्यले भक्तपुरका सुप्रिम रानामगरबाट र एपिएफका देवराज रानाले धादिङ्गका मोहन गुरुङ्गबाट वाक ओभर पाउनुभयो । 

यस्तै दोस्रो चरणमा प्रवेश गर्ने अन्य खेलाडीहरुमा आयुश्मान श्रेष्ठ, एपिएफका क्षितीज खनाल, रिभाईभका प्रशोभ रात्न शाक्य, आर्मीका रुकेश महर्जन, आर्मीका सुविन श्रेष्ठ, एपिएफका अमन महर्जन, भक्तपुरका रिसोद सुवाल, संखुवासभाका रिजन याम्फु, आर्मीका नरेन्द्र बम, बिवाईसीका सुमित थोकर, पुलिसका सुनिल जोशी, बनेपाका सानुबाबु गोले, पुलिसका हिराबहादुर राई र सेनाका विवेक चौधरी हुनुहुन्छ । 

प्रतियोगितामा महिला र पुरुष एकल, पुरुष युगल, पुरुष भेट्रान ४५ वर्ष माथिको युगल, यू–११, यू–१३ र यू–१५ छात्र/छात्रा गरि १० विधामा प्रतिस्पर्धा हुनेछ । असार १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्को मुख्य सहयोग रहेको छ । प्रतियोगितामा पुरुष र महिला एकलतर्फ पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमशः ५०, २५ र १० हजार रुपियाँ पुरस्कार पाउनेछन् । 

पुरुष युगलतर्फ शीर्ष तीनमा रहनेलाई क्रमशः ४०, २० र आठ, भेट्रान्सतर्फको शीर्ष तीनमा रहने खेलाडीलाई ३०, १५ र ६ हजार रुपियाँ प्रदान गरिनेछ ।उमेर समूहमा विजेता, उपविजेता र तेस्रो हुनेलाई पनि आकर्षक नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ । प्रतियोगिताको माननिय युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले उद्घाटन गर्नुभयो ।