• ७ पुस २०८१, आइतबार

चार्ल्सकाे राज्याभिषेक

blog

बेलायतले राज परम्परालाई निरन्तरता दिएको छ । संवैधानिक भए पनि शक्तिशाली मानिने त्यहाँका नयाँ राजा चार्ल्स तृतीयको राज्याभिषेक भव्य र सभ्य रूपमा सम्पन्न गरिएको छ । गएको मे ६ मा राजा चार्ल्सको राज्याभिषेक सम्पन्न भयो । 

राजा चाल्र्सले वेस्टमिनिस्टर एबेमा आयोजित विशेष समारोहमा महँगो राजमुकुट लगाए । आर्चविसपले ‘सेन्ट एड्वर्डज क्राउन’ नामको राजमुकुट राजाको शिरमा राखिदिए । जीवनमा एक पटक राज्याभिषेक समारोहमा मात्र यो राजमुकुट लगाइन्छ । यो राजमुकुट पहिरिने चाल्र्स सातौँ राजा वा रानी हुन् ।

यसअघि चार्ल्स द्वितीय, जेम्स द्वितीय, विलियम तृतीय, जर्ज पञ्चम, जर्ज छैटौँ, अनि एलिजाबेथ द्वितीयाले यो राजमुकुट पहिरिएका थिए । उक्त राजमुकुट पछिल्लो पटक सन् १९५३ मा महारानी एलिजाबेथले आफ्नो राज्याभिषेकमा पहिरिएकी थिइन् ।

राज्याभिषेक समारोहमा राजा चार्ल्सप्रति निष्ठा व्यक्त गर्दै आर्चविसप सम्मानमा झुकेका थिए । त्यस अवसरमा राजा चार्ल्सले “म शपथ खान्छु, म महाराज, उहाँको उत्तराधिकारी र कानुनमा साँचो निष्ठा राख्नेछु,” भनी शपथ लिएका थिए । 

समारोहमा रानी क्यामिलालाई पनि आर्चविसपले ‘क्विन मेरिज क्राउन’ राजमुकुट लगाइदिए । 

राज्याभिषेक समारोहको अन्त्यमा राजाहरूले सेन्ट एड्वर्डजको राजमुकुट झिकेर ‘इम्पेरियल स्टेट क्राउन’ नामक अलि हलुका राजमुकुट लगाउने चलन छ । त्यो राजमुकुट पनि राजकीय समारोहमा मात्र लगाउने गरिन्छ । राजाहरूले राजकीय समारोहमा लगाइराख्ने यो इम्पेरियल स्टेट क्राउन पनि सुनले बनाइएको छ । जसमा दुई हजार ८६८ वटा हीरा र अन्य रत्न जडिएका छन् । 


वेस्टमिनिस्टर एबेमा विम्बहरूले भरिएको र सङ्गीतमय प्रस्तुतिमाझ राज्याभिषेक समारोेह भव्य रूपमा सम्पन्न भयो । रानी क्यामिलाका साथ राजा चाल्र्स बकिङ्घम दरबारबाट उक्त समारोहका लागि निस्कँदा सेन्ट्रल लन्डनका सडकमा हजारौँ मानिसले स्वागत गरे । राज्याभिषेक परेड हेर्ने आशामा अनुकूल स्थान सुनिश्चित गर्न मानिसहरू रातिदेखि नै सडकमा कुरेर बसेका थिए । राज्याभिषेक समारोह वेस्टमिनिस्टर एबेमा करिब दुई घण्टा चलेको थियो ।

समारोहमा बेलायतका प्रधानमन्त्री ऋषि सुनक र सात जना पूर्वप्रधानमन्त्री सहभागी भए । प्रधानमन्त्री सुनकले राज्याभिषेकको दिन अभूतपूर्व राष्ट्रिय गौरवको क्षण भएको र देशको आधुनिक चरित्रको जीवन्त प्रदर्शन भएको बताए । 

महारानी एलिजाबेथ द्वितीयाको निधनपछि उनका जेठा छोरा चाल्र्स तृतीय नयाँ राजा बनेका हुन् । राजगद्दीमा पुग्न चाल्र्सले लामो प्रतीक्षा गर्नुप¥यो । चार वर्षको उमेरमा उत्तराधिकारी घोषित उनी ७० वर्षपछि राजा बने । बुढ्यौली उमेरमा विश्वकै सम्भ्रान्त र सम्मानित शाही परिवारको विरासत धान्न पुगेका चाल्र्ससामु बेलायती राजसंस्थालाई बलियो र लोकप्रिय बनाउने चुनौती खडा भएको छ । 

एलिजाबेथ २५ वर्षको उमेरमा बेलायतको महारानी बनेकी थिइन् । संसारभरि बेलायतको आधिपत्य हुँदादेखि ब्रेक्जिटका कारण अनिश्चित भविष्यको स्थितिमा आउँदासम्म उनले शाही परिवारको गौरवशाली साख कायम राखेकी थिइन् । 

पत्नी डायनासँगको सम्बन्ध विच्छेद र पछि कार दुर्घटनामा डायनाको निधनलगायतका कारणले विवादमा परेका व्यक्ति हुन् चाल्र्स । सन् १९९० दशकको मध्यतिर केही आलोचकले उनलाई राजा स्वीकार गर्न नसकिने आवाज उठाएका थिए । चाल्र्सभन्दा उनका छोरा विलियम्सलाई महारानीको उत्तराधिकारी घोषणा गर्नुपर्ने माग बेलाबखत उठ्थ्यो ।

सन् १९९१ मा गरिएको मत सर्वेक्षणमा चाल्र्स असल राजा हुनेमा ८२ प्रतिशत जनता विश्वस्त थिए तर सन् १९९६ को सर्वेक्षणले भने ४१ प्रतिशत जनताले मात्र उनलाई राम्रो उत्तराधिकारी माने अर्थात् उनको लोकप्रियता निकै घट्यो । लोकप्रियता घटेसँगै डायनाको निधनपछि चाल्र्स आफ्नो छवि सुधार्नमा केन्द्रित भए ।  त्यस निम्ति तत्कालीन प्रधानमन्त्री टोनी ब्लेयरसँग मिलेर उनले काम गर्न थाले । ब्लेयरसँगको सहकार्यले आफ्नो छवि सुधार्न उनी सफल पनि भए  । 

पत्नी डायना हुँदाहुुँदै चाल्र्स क्यामिलासँग प्रेममा फसेका थिए । उनको यो प्रेम सम्बन्धलाई धेरैले राम्रो मानेनन् । सन् १९९७ मा डायनाको कार दुर्घटनामा निधन भएपछि सन् २००५ मा उनले क्यामिलासँग विवाह गरे । निजी जीवन लयमा फर्किए पनि राजपरिवारलाई लयमा फर्काउने चुनौती चाल्र्सलाई छ । 

पृथक् पहिचान बनाउने उद्देश्यबाट चाल्र्सले परोपकारी संस्था गठन गरे । पछिल्ला वर्षमा उनले महारानी एलिजाबेथका तर्फबाट निर्वाह गर्नुपर्ने काम पनि गरे । महारानीका तर्फबाट विदेश भ्रमणदेखि सम्मान अर्पणका काममा उनको सहभागिता रह्यो । प्रथम विश्वयुद्धको स्मृति दिवसका अवसरमा महारानीले दिवङ्गत सैनिकहरूको स्मारकमा सम्मान अर्पण गर्ने परम्परा थियो । उनले त्यहाँ महारानीका तर्फबाट आफूले माल्यार्पण गरे । 


स्पष्ट वक्ता चाल्र्स राजनीतिक मुद्दामा टिप्पणी गर्न समेत हिच्किचाउन्नन् । सन् २००५ मा भएको हमलापछि ‘इस्लामोफोबिया’ बढेको बेलायतमा उहाँले धार्मिक सहिष्णुताको वकालत गरे । उनको भूमिकाले सम्भावित धार्मिक द्वन्द्व टार्न मद्दत पुगेको थियो । कहिलेकाहीँ कडा विचारका कारण उनी समस्यामा पनि पर्ने गर्छन् । 

सन् २००६ मा उनी बेलायती पत्रिका ‘द मेल’ विरुद्ध खनिए । सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण गर्न महारानीको प्रतिनिधि बनेर चाल्र्स हङकङ गएका थिए । चाल्र्सले डायरीमा नोट गरेको वाक्यांशलाई ‘द मेल’ ले जस्ताको तस्तै छापेको थियो । आफ्नो गोपनीयता भङ्ग गरेको भन्दै उनले ‘द मेल’ विरुद्ध मुद्दा हाले । त्यो मुद्दा उनले जिते पनि । 

चाल्र्स बेलायतका मात्र होइन १४ वटा कमनवेल्थ देशका प्रमुख बनेका छन् ।  हालैको सर्वेक्षणले उनलाई त्यति धेरै लोकप्रिय भने देखाएको छैन । शाही परिवारका सदस्यभित्र छनोट गर्दा उनी ११ प्रतिशतको छनोटमा परेका छन् । चाल्र्सलाई कमैले मन पराए पनि राजतन्त्र भने धेरैले मन पराएका छन् । 

सर्वेक्षण अनुसार ४३ प्रतिशत जनताले राजतन्त्रबिना मुलुकको भविष्य बिग्रिने प्रतिक्रिया दिएको देखिन्छ । त्यस्तै १९ प्रतिशतले राजतन्त्र अन्त्य हुनुपर्ने बताएका छन् भने ३१ प्रतिशतले राजतन्त्र वा नयाँ व्यवस्था जे आउँदा पनि कुनै असर नपर्ने राय दिएका छन् । 

९६ वर्षको उमेरमा सन् २०२२ को सेप्टेम्बर ८ मा महारानी एलिजाबेथको निधन भएपछि सेप्टेम्बर १० मा औपचारिक रूपमा चाल्र्स तृतीया राजा घोषित भएका थिए । बेलायतको नौ सय वर्षको राजतन्त्रको इतिहासमा उनी ४०औँ राजा हुन् ।