• २० असोज २०८१, आइतबार
blog

हेवा खोलामा डाइभर्सन बनेपछि पाँचथरको सदरमुकाम फिदिमतर्फ आउँदै मेची राजमार्गको हिलिहाङ सडकखण्डमा १२ दिनदेखि रोकिएका यात्रुवाहक सवारी साधन। तस्बिर : राधा लुइटेल

राधा लुइटेल 

फिदिम, असार १२ गते। हेवा खोलामा ह्युम पाइप मार्फत पानी तर्काएर डाइभर्सन बनेसँगै मेची राजमार्गको पाँचथरको फिदिम–ताप्लेजुङ सडकखण्ड सञ्चालन भएको छ।

असार ३ गते आएको बाढीले पुल बगाएपछि मेची राजमार्गको फिदिम-ताप्लेजुङ सडकखण्ड अवरुद्ध भएको थियो। सडक डिभिजन कार्यालय इलामका प्राविधिक, कामदार, स्थानीय, सुरक्षाकर्मीको सहकार्यमा तीनदिन अघि सुरु गरिएको डाइभर्सन राख्ने काम सफल भएसँगै मंगलबार दिउँसो साढे दुई बजेदेखि हेवा खोलाबाट यात्रुवाहक र ढुवानीका साधन सञ्चालन भएका हुन्। 

बाढीले पुल बगाएको हेवा खोलामा १६ वटा ह्युम पाइप राखेर डाइभर्सन गरिएको सडक डिभिजन कार्यालय इलामका प्रमुख विदुर पोखरेलले जानकारी दिनुभयो। अघिल्लो दिन नै यातायात खुलाउने भनिए पनि खोलामा पानीको बहाव ह्युम पाइपले थेग्न नसकेपछि सफल भएको थिएन। हेवा खोलाको पुल बगेपछि पाँचथरको हिलिहाङ, याङवरक र फालेलुङ गाउँपालिकासँगै सिङगो ताप्लेजुङ जिल्लामा खाद्यान्न र दैनिक उपभोग्य वस्तु पुग्न सकेको थिएन।